नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।
'भर्खरै माननीज्यूहरूले भन्नुभयो-यो सरकार आजै ढल्छ, भोलि ढल्छ भनेर भ्रमण सिर्जना नगरियोस्। तपाइँहरू खुरुखुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई डेलिभरी दिन्छौँ भनेर आउनुभएको हो नि ठूला पार्टी मिलेर। भटाभट हाम्रो मुखमा बिर्को लाग्ने गरी काम गर्नुस् न, के ले रोकेको छ तपाइँहरूलाई? उनले प्रश्न गरे।
उनले आएको दिनदेखि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकलाई झम्टिएको, उनको समर्थन गर्ने मन्त्रीलाई बर्खास्त गरेको भन्दै आपत्ति जनाए।
'आएका दिन देखि कुलमान जीलाई झम्टिनुभयो, हुँदाहुँदै त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो,' उनले भने, 'बोल्न नपाइने निरङ्कुशता जे छ तपाइहरूसँग तपाइहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभाबी गर्ने अनि यो सबै कुराको हामीले ठिक छ भनेर भनिदिनुपर्ने? हामी त्यसो भन्न सक्दैनौँ। तपाईँहरूले एकपछि अर्को गरी कानून र संविधानलाई उल्लङ्घन गर्नुभएको छ।'
वर्तमान सरकारले बिचौलियालाई खुसी बनाइराखेको उनको आरोप छ।
'बेथिति विकृतिको संरक्षण गरिराख्नुभएको छ र विचौलियाहरूलाई खुसी पारिराख्नुभएको छ,' उनले थपे, 'हामी प्रमुख प्रतिपक्षी हुनुको नाताले त्यसको हामीले सशक्त प्रतिवाद, खबरदारी र जनतालाई सुसुचित गरेको हो। हामी भन्न चाहन्छौँ, तपाइहरू सुध्रिने तिर किन जानुभएन?’
Shares

प्रतिक्रिया