राजनीति


गगन थापाले भने- एमालेसँग सहमतिअनुसारै अघि बढ्छौँ, अस्थिरतामा लाग्दैनौँ

‘असन्तुष्टिको कारोबार नगरौँ’
गगन थापाले भने- एमालेसँग सहमतिअनुसारै अघि बढ्छौँ, अस्थिरतामा लाग्दैनौँ

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले असन्तुष्टिको कारोबार गर्न नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले असन्तुष्टिको कारोबार नगर्न र असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम नगर्न सचेत गराएका हुन्।

उनले राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आम नागरिकहरूमा सन्तोष रहँदै गर्दा पनि अहिले एउटा ठूलो बेचैनी, असन्तोष रहेको बताए।

असन्तुष्टि र बेचैनीको मुख्य कारण राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा परिवर्तन नआउनुका पनि रहेको उनको भनाइ थियो।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले के कुरालाई महसुस गरेको छ भने राजनीतिक उपलब्धिहरूका सम्बन्धमा आमनागरिकमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ। त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वाचा गरेका थियौँ, नागरिकले अपेक्षा गर्नुभएको थियो, तदनुरुप हुन सकिरहेको छैन। त्यसको कारणले गर्दा असन्तुष्टि छ। तर यो असन्तुष्टिलाई हटाउनुपर्छ भन्ने हामी ठान्दछौँ। असन्तुष्टिको कारोबार गर्ने होइन। असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने होइन। त्यसलाई सम्बोधन गर्नुपर्छ। बेचैनीलाई हटाउँदै लिएर जानुपर्छ।’

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टिको सम्बोधन रहेको उनको भनाइ थियो।

‘खास गरेर हाम्रो इकोनोमीमा देखिएका जति पनि समस्याहरू छन्, संकटहरू छन्, यसलाई सम्बोधन नगरीकन नागरिकका असन्तुष्टि सम्बोधन हुनै सक्दैन। केही समयअघि संसदले केही कानुनहरू पारित गरेको छ। यद्यपि त्यसलाई हामीले प्रारम्भ मात्रै ठानेका छौँ। त्यो सुरुवात मात्रै हो। त्यसले पोजेटिभ भाइब्स लिएर आउँछ, त्योभन्दा बढी होइन। यो समयको हामी प्रयोग गर्न चाहन्छौँ।’

महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतै पनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे। सरकारमा बस्नका लागि मात्रै नभएर परिणाम दिने गरी काम गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad