राष्ट्रिय स्वतन्त्र पार्टीले तीनजना ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञलाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ।
आइतबार नेपाल सरकारका पूर्वसचिव देवेन्द्र कार्की, सुशील चन्द्र तिवारी र मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सदस्यमा मनोनयन गरेको प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनीहरू तीनैजना इन्जिनियर हुन्।
विज्ञ सदस्यहरूको मनोनयनका सन्दर्भमा विभाग प्रमुख इन्जिनियर श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत क्षेत्रको दीर्घकालीन समृद्धिको आधार तयार गर्नका लागि आवश्यक नीतिगत संरचनाको खाँचो रहेको उल्लेख गर्दै भने, 'नेपालको समृद्धिको प्रमुख आधार ऊर्जा र जलस्रोत हो, त्यसको अधिकतम उपयोगका लागि अनुभव र विज्ञता भएका व्यक्तिहरूको ज्ञानको अधिकतम सदुपयोग गर्न जरुरी छ।'
नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा थिए।
उनीहरूको प्राविधिक ज्ञान, प्रशासनिक अनुभव र नीति निर्माणको अभ्यासलाई राजनीतिक तहसँग समन्वय गर्दै राष्ट्रिय आवश्यकताअनुसार ऊर्जा तथा जलस्रोत रणनीति बनाउन विभागले पहल गरेको छु, विभाग प्रमुख न्यौपानेले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न क्षेत्रका विज्ञ, पूर्वसचिव, पूर्वप्रशासक, पूर्वसुरक्षा अधिकृतहरू एवं राष्ट्रिय, सामाजिक जीवनका व्यक्तित्वहरूलाई विज्ञ सल्लाहकारको रुपमा मनोनय गर्ने गरेको छ। पार्टीले गैर सदस्यहरूलाई समेत विज्ञताका आधारमा विज्ञ सल्लाहकारमा मनोनय गर्न सक्ने व्यवस्था गरेको छ।
Shares

प्रतिक्रिया