राजनीति


जनार्दनको अभिव्यक्तिले पेरिसडाँडामा खैलाबैला : पार्टी फुटाउन खोजेको भन्दै प्रचण्डलाई कठोर बन्न सुझाव

सुदन किराती भन्छन् : श्रमशिविर जान पनि तयार छौँ तर पार्टी फुटाउँदैनौँ
जनार्दनको अभिव्यक्तिले पेरिसडाँडामा खैलाबैला : पार्टी फुटाउन खोजेको भन्दै प्रचण्डलाई कठोर बन्न सुझाव

सागर न्यौपाने
साउन १२, २०८२ सोमबार २१:४३, काठमाडौँ

उपमहासचिव जनार्दन शर्माले पार्टीमा निरंकुशता हाबी भएको भन्दै हालै दिएको अभिव्यक्तिले नेकपा माओवादी केन्द्रभित्र खैलाबैला उत्पन्न गरेको छ। शर्माको अभिव्यक्ति  अक्षम्य खालको रहेको भन्दै सो पार्टीका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कठोर कदम चाल्न सुझाव दिएका छन्।

माओवादी नेताहरूका अनुसार शर्माले पार्टीलाई क्षति पुग्नेगरी बोलेकाले त्यसलाई सामान्य नठान्न उनीहरूले प्रचण्डलाई आग्रह गरेका छन्।

साउन ६ गते ५७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट पार्टीहरू नोकरशाही केन्द्रीयतामा परिणत भएकोले समीक्षा गर्ने बेला भएको बताएका थिए।

‘आज कम्युनिस्ट पार्टीभित्र प्रश्न सुन्न नेतृत्व तयार हुँदैन। जनताले प्रश्न गर्छ, हामी कान थुनेर बस्छौँ। यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौँ। जनवाद समाप्त भयो। केन्द्रयीता मात्रै बाँच्यो,’ शर्माले भनेका थिए, ‘केन्द्रीयता पनि केन्द्रीयता रहेन, नोकरशाही केन्द्रीयतामा बदलियो। त्यतिमा मात्र सीमित भएन, त्यो सामन्ती निरंकुशतामा बदलियो। र कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डहरूजस्ता बन्न थाले। यो आजको अवस्था हो।’

शर्माले पटक–पटक सरकारको नेतृत्व गरेका कम्युनिस्ट पार्टीहरूले गरिबी, उत्पीडन र सामाजिक विभेद अन्त्य गर्न नसकेको आरोप समेत लगाएका थिए।

‘नौपटक नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशमा गरिबीको अवस्था, उत्पीडित जाति, दलितहरूमाथिको अत्याचार र महिला हिंसा व्याप्त छ। अहिले जनजातिका पहिचानका मुद्दाहरू हराइरहेका छन्। आज हाम्रा लाखौँ युवाहरू विदेशी भूमिमा पसिना बगाइरहेका छन्। आज हाम्रो देशको जमिन बाँझो छ। खण्डहर बन्दै गएको छ। यही कम्युनिस्ट पार्टीप्रति फर्किएको इतिहासको सबैभन्दा कटु प्रश्न हो,’ शर्माको थप भनाइ थियो।

शर्माको उक्त अभिव्यक्ति अध्यक्ष प्रचण्डप्रति लक्षित रहेको भन्दै प्रचण्डपक्षीय नेताहरू क्रुद्ध छन्। केहीले सामाजिक सञ्जालबाटै शर्माको भनाइको प्रतिवाद गरेका थिए।  

त्यसपछि अध्यक्ष प्रचण्डलाई भेट्ने पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नेताले शर्मालाई कारबाही गर्नुपर्नेसम्मको प्रस्ताव राखेका छन्।  

‘उहाँको भनाइ सामान्य खालको हुँदै होइन, यो त कारबाही योग्य कुरा हो भनेर कतिपय कमरेडले भन्नुभएको छ, नभए स्पष्टीकरण सोध्नुपर्ने अध्यक्षलाई सुझाव पनि आएको छ,’ माओवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘तर, अध्यक्षले यसबारे केही बताउनुभएको छैन। उहाँले परामर्श पनि गरिरहनु भएकोले मूर्तरूपमा ठ्याक्कै यसो गर्ने भन्नु भएको भने छैन।’

शर्माले पार्टी विभाजन गर्ने तयारी गरेको ती पदाधिकारीको आरोप छ।

‘पुष्पलाल स्मृति दिवसमा जनार्दन शर्माको अभिव्यक्तिले पार्टीभित्र छलफलको माग त गर्छ। तर, अब कसरी छलफललाई अगाडि बढाउने? यो स्थायी समिति बैठकमै कुरा हुन्छ, स्थायी समितिको बैठकमै नेतालाई बोल्न दिएर शर्माको भनाइको खण्डन गर्न लगाउने पनि हुनसक्छ,’ उनले भने।

साउन १६ गते माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। सो बैठकमा यसबारे छलफल हुनसक्ने पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताए।

‘स्थायी समितिको बैठकमा यी लगायत आन्तरिक, बाह्य परिस्थितिबारे विस्तृत, विहंगम छलफल हुन्छ,’ सापकोटाले भने, ‘स्थायी समितिको बैठकअघि कार्यालय बैठक राखेर पनि यसबारे छलफल हुनसक्छ।’

शर्माको भनाइ सार्वजनिक भएको ६ दिन भइसकेको छ। तर, यो विषय माओवादी पार्टीभित्र भने सेलाउनेभन्दा चर्किने दिशामा छ। शर्माको भनाइको विरोध र बचाउ दुवै भइरहेको छ।

उपमहासचिव वर्षमान पुनले शर्माप्रति संकेत गर्दै नेतृत्वलाई कमजोर बनाउने प्रवृत्तिको विरोध गरे। सोमबार (साउन १२) मा पुनले पार्टी रूपान्तरण भइरहेको बेला नेतृत्वलाई आरोप लगाउनु गलत भएको बताए।

‘पार्टी रूपान्तरण हुँदैछ, जनताले विश्वास गर्दै छन्, स्वीकारेका छन्, राम्रो हुँदा त कमसेकम नेतृत्वलाई राम्रो भन्न सक्नुपर्छ,’ उनले भने, ‘व्यक्तिगत आरोप, लान्छना लगाएर नेतृत्वलाई कमजोर बनाउने जो प्रवृत्ति छ, त्यो स्वीकार्य हुँदैन।’

उपमहासचिव मात्रिका यादवले पनि शर्माको भनाइ पार्टीलाई धक्का दिने खालको भएको टिप्पणी गरे। यद्यपि, पार्टी कारबाहीको तहसम्म पुग्ने सम्भावना नभएको उनी बताउँछन्। 

आफूप्रति लक्षित शर्माको साउन ६ गतेको अभिव्यक्तिले आक्रोशित देखिएका प्रचण्डले भोलिपल्टै साउन ७ गते ‘समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यसको जवाफ फर्काए।  

अन्य पार्टीभित्र जस्तो आफूले नेतामाथि अनुशासनको डण्डा नचलाएको पनि बताए।

‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन, भिन्न मतप्रति अलि बढी उदारता भने मेरो कमजोरी हो,’ प्रचण्डले भने, ‘मलाई मेरो पार्टीभित्र बढी आलोचना हुने विषय पनि यही हो। मैले कसैलाई कारबाही गरिनँ।’

‘हिजै पनि केही साथीहरूले ल त भनेर अलिअलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, उहाँलाई सिँगौरी खेल्न मन भए प्रशस्त खेल्नुस् भनेर दिएको छु। डेढ महिना परामर्श भन्दै देशैभरि लिएरै हिँडेँ मैले। यो भन्दा बढी  जनवाद के हुनु?’ प्रचण्डको थप भनाइ छ, ‘कमरेड किरण, बाबुराम, बादल, अरु थुप्रै, कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिँ छैन। तर कतिपय साथीहरूलाई लाग्छ, ननिक्लेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि। त्यो पनि सत्य होइन। मैले पर्याप्त छलफलको वातावरण दिने गरेको छु।’

प्रचण्ड कठोर रूपमा प्रस्तुत हुनसक्ने आशंका शर्मालाई पनि छ। त्यही भएर उनीपक्षीय नेताहरू बचाउमा लागेका छन्। शर्माले डेढ वर्षअघिदेखि पार्टीभित्र विधिको कुरा उठाउँदै आएको उनीहरू बताउँछन्। 

उनकै माग अनुसार असारमा केन्द्रीय समिति बैठक बस्ने र महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय भए पनि कार्यान्वयन नभएको शर्माको गुनासो छ।

शर्माले पार्टीभित्र विधि स्थापित हुनुपर्ने कुरा मात्र उठाएको सांसद सुदन किरातीको तर्क छ।

‘सहिदको सपना पूरा गर्न यो पार्टी रूपान्तरण हुनुपर्ने अनिवार्य सर्त हो,’ किराँतीले नेपालखबरसँग भने, ‘हरहालतमा जस्तोसुकै कारबाही भोग्न तयार, विगतको पार्टी विभाजनबाट शिक्षा लिँदै पार्टी फुटाउने विरुद्धमा छौँ। संघर्ष गर्दा जस्तोसुकै कारबाही भोग्न तयार, सेतो टोपी लगाएर दार्चुलाको श्रम शिविरमा लगे पनि भयो, तर पार्टी विभाजन गर्दैनौँ।’

माओवादी पार्टीभित्र प्रश्न उठाएर भाग्ने र प्रश्न उठाउनेलाई विभाजनको आरोप लगाएर लखेट्ने चलनलाई आफूहरूले चिर्ने उनको भनाइ छ। 

‘संघर्ष गर्ने भनेपछि मनमा डर, त्रास र आतंक बोक्नु हुँदैन। त्यसको निम्ति निस्वार्थी र निर्लोभी हुनुपर्छ। जसले पदको, सुविधाको आशा बोक्छ नि, त्यसले सक्तैन, हामी सबै छोडेर जान तयार छौँ,’ किराँतीले थपे, ‘रूपान्तरणको झण्डालाई झुक्न नदिने। पार्टी फुटाइन्छ भन्ने अध्यक्ष प्रचण्ड र वरिपरिका नेताहरूको आरोपलाई व्यवहारबाटै खण्डन गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad