पतञ्जलि भ्रष्टाचार प्रकरणका २ अभियुक्त आज विशेष अदालतमा उपस्थित भएका छन्।
अभियुक्तहरू पूर्वमन्त्री प्रेमबहादुर सिंह र पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंह आफूमाथिको अभियोगको प्रतिवाद गर्न अदालतमा उपस्थित भएका हुन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा उनीहरूको बयान भएको थियो।
अहिले उनीहरूलाई थुनामा राखेर बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भनेर बहस भइरहेको छ।
पूर्वमन्त्री सिंहका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, ललित बस्नेत लगायतले बहस गरेका थिए। उनीहरूले सिंहलाई थुनामा राख्न नमिल्ने तर्क गरेका थिए।
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्अन्तर्गत विधेयक समितिले २०६६ माघ १८ गते पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको थियो। त्यही निर्णयका कारण तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंहले भ्रष्टाचार मुद्दा खेप्नुपरेको छ।
उनी विधेयक समितिका संयोजक थिए।
यसै प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख रूपैयाँ धरौटीमा छुटेका छन्।
Shares

प्रतिक्रिया