नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद कोमल वलीले समाचार वाचन गरेर र गीत गाएर दाङमा ठड्याएको घर तथा होटल जेनजी आन्दोलनका नाममा ध्वस्त पारिएको भन्दै दुखेसो गरेकी छन्।
गायिकासमेत रहेकी उनले दाङको तुलसीपुरमा सञ्चालन गरेको होटलमा आगो लगाइएपछि आफ्नो सपना खरानी भएको भनी उनले पीडासँगै आक्रोश पोखेकी हुन्।
‘बीस वर्षअघि रेडियो नेपालमा समाचार वाचन र गीत गाएर कमाएको पारिश्रमिकले किनेको जग्गामा आज मेरो पसिना र ऋणसँगै उभिएको सपना खरानी बनाइयो’, वलीले बिहीबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले सधैँ साथ दिएको उमेर समूह जेन-जीको आन्दोलनको आवरणमा मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुने छैन।’
तुलसीपुरमा कोमल होटल खोल्दा सेवामूलक सानो होटल सञ्चालन गरेर गाउँलाई रोजगारी दिने, स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने, सबैलाई सँगसँगै समृद्धिको बाटोमा अघि बढाउने सपना रहेको उनले सुनाएकी छन्।
उनले अगाडि भनेकी छन्, ‘म तुलसीपुरका पाँचतारे होटल वा अन्य होटलसँग प्रतिस्पर्धा गर्ने होइन तर प्राकृतिक सौन्दर्यले गर्दा आम जनताको नजरमा परेका रहेछौँ। यो होटल मेरो मात्र नभई गाउँको रगत–पसिनासँग जोडिएको थियो।’
उनले आजसम्म कसैको एक पैसा नखाएको दाबी गर्दै भ्रष्टाचार गरेको प्रमाणित भएमा गोली खान तयार रहेको उल्लेख गर्दैमा उनले कुनै दलमा जोडिँदैमा यस्तो सजाय दिनु गलत भएको बताएकी छन्।
‘मेरो जीवन इमान र निष्ठामा अडिएको छ। मैले कहिल्यै भ्रष्टाचार गरेकी छैन, उपचार खर्चका नाममा सुविधा लिएको छैन। आर्थिक प्रलोभनमा परेको छैन। कसैलाई टिकट काट्न लगाएको छैन, कसैको चिया खाएको छैन। यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु’, वलीले लेखेकी छन्, ‘म नेकपा एमालेमा यस आशाले गएँ कि परिवर्तन सम्भव हुन्छ। तर के केवल कुनै दलमा आबद्ध हुनु नै भ्रष्ट हुनु हो? नेपालको संविधान स्वयंले यसलाई अस्वीकार गर्छ।’
Shares

प्रतिक्रिया