विराटनगरलाई ऐतिहासिक र राजनीतिक केन्द्र मानिन्छ। व्यापार, उद्योग र श्रम आन्दोलनको राजधानीका रूपमा चिनिने विराटनगरले देशलाई निरन्तर नेतृत्व दिने परम्परा कायम राख्दै आएको छ।
केहीबेर अघि मात्रै शुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै विराटनगरले छ जना प्रधानमन्त्री प्राप्त गरेको छ।
बीपी कोइराला – नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। लोकतन्त्र र नागरिक स्वतन्त्रताका दृढ समर्थक बीपीले नेपाली कांग्रेसको संस्थापक नेताको रूपमा देशलाई नयाँ राजनीतिक दिशा दिएका थिए।
मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता बने। पञ्चायत पूर्वकालमा दुईपटक प्रधानमन्त्री बनेका मातृका कोइरालाले देशको लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण भूमिका खेले।
गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री बने। नेपाली राजनीति र शान्ति प्रक्रियामा उनको योगदान ऐतिहासिक मानिन्छ।
मनमोहन अधिकारी – नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री, जनमुखी नीति र सामाजिक सुरक्षाको अवधारणालाई व्यवहारमा उतार्ने नेताको रूपमा लिईन्छ।
नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री, तत्कालीन व्यवस्थामा विराटनगरको नेतृत्वलाई निरन्तरता दिने व्यक्तित्वका रूपमा मान्छन् ।
सुशीला कार्की – नेपालको पहिलो महिला प्रधान न्यायाधीश र प्रधानमन्त्री, न्याय क्षेत्रदेखि कार्यपालिका नेतृत्वसम्म पुग्न सफल भएकी उनले विराटनगरको गौरवलाई नयाँ उचाइमा पुर्याइन्।

विराटनगरले मुलुकलाई मात्र प्रधानमन्त्री दिएको छैन, यहाँबाट लोकतान्त्रिक आन्दोलन, मजदुर–श्रमिक हक अधिकारका आन्दोलन र समाज सुधारका ऐतिहासिक कदमहरू समेत उठेका छन्। बीपीदेखि सुशीलासम्मको यात्रा यस शहरको राजनीतिक चेतना, जनआन्दोलनप्रतिको प्रतिबद्धता र नेतृत्व उत्पादन गर्ने क्षमताको प्रमाण भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले यस शहरलाई मुलुककै नेतृत्व दिने उर्वर भूमिको संज्ञा दिएका छन्। नेपाल खबरसँग कुरा गर्दै उनले विराटनगरले विगतदेखि नै मुलुकलाई नयाँ मार्गदर्शन गर्ने र संकटको घडीमा समाधान दिने भूमिकामा रहँदै आएको स्मरण गराए।
उनका अनुसार, नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालादेखि, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी, २०४६ सालको जनआन्दोलनपछि निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पञ्चायतकालीन प्रधानमन्त्री नगेन्द्र रिजाल र हालै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की सबै विराटनगरकै गर्भबाट जन्मिएका हुन्।
उनले भने, 'राजनीतिक रूपमा कुनै बेला मुलुक हल्लाउने र परिवर्तनको बाहक बन्ने काम विराटनगरकै हो। संकटको क्षणमा समाधान दिने नेतृत्व यतैबाट आएको छ।'
विराटनगर किन यस्तो उर्वर भूमिमा परिणत भयो भन्ने प्रश्नमा प्राध्यापक पोखरेलले यस शहरमा विगतदेखि नै क्रान्तिको चेतना, मजदुर आन्दोलन र लोकतान्त्रिक संघर्षको परम्परा बलियो रहेको बताए।
उनका अनुसार, जनआन्दोलन र सामाजिक आन्दोलनको केन्द्रबिन्दु विराटनगर भएकै कारणले देशले पटक–पटक यहाँबाट नयाँ दिशा दिने प्रधानमन्त्री पाएको हो। नेपालका हरेक राजनीतिक प्रणालीमा विराटनगरले योगदान पुर्याएको दावी गरे।
Shares

प्रतिक्रिया