राजनीति


संसद् विघटनमा रास्वपाको ‘समर्थन’

संसद् विघटनमा रास्वपाको ‘समर्थन’

फाइल तस्बिर : रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी


नेपालखबर
भदौ २९, २०८२ आइतबार ९:०, काठमाडौँ

प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रस्ट शब्दमा अन्तरिम प्रधानमन्त्री नियुक्ति र लगत्तै संसद् (प्रतिनिधि सभा) विघटन असंवैधानिक भन्दै विरोध गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने घोषित निर्वाचनमा जोड दिएको छ। 

रास्वपाले शनिबार साँझ विज्ञप्ति जारी गरी नवयुवा पुस्ता (जेन-जेड) को आन्दोलनबाट यो परिवर्तन सम्भव भएको उल्लेख गर्दै ‘संविधान पालनाको कोणबाट प्रश्न उठेको’ सम्म भनेको छ तर विमति प्रकट गरेको छैन।

बरु वाचाअनुरूप आगामी फागुन २१ गते आम निर्वाचनलगायत काम भएन भनेचाहिँ आन्दोलनमा उत्रिने चेतावनी रास्वपाले दिएको छ। 

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ। यी घोषित लक्ष्यहरुबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ।’

यस्तो छ, रास्वपाको पूरा विज्ञप्ति:

कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाउनुभएको छ। भ्रष्टाचार र कुशासन विरुद्ध स्थापनाकालदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टी संघर्षशील रहेको स्मरण गराउँदै, भदाै २३ मा नवयुवा (जेन-जेड) पुस्ताले गरेको निर्णायक हस्तक्षेपको बलमा यो परिवर्तन भएको हो । तथापि, संविधान पालनाको कोणबाट प्रश्न उठेको छ।

सबै पक्षलाई जोड्न भदाै २६ गते रास्वपाले जारी गरेको प्रस्ताव थियो: "राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपा उचित ठान्दछ।"

फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता-हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासन अनुरुप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रूतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरुबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ।

-कविन्द्र बुर्लाकोटी, महामन्त्री  

त्यसो त कांग्रेसकै नेता मीनेन्द्र रिजालले पनि संसद् विघटनलाई ठूलो विषय नबनाई राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति समर्थन जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad