नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा अहिले अन्तरिम सरकार बनिसकेको र चुनवा समेत घोषणा भइसकेको अवस्थामा अब त्यसलाई सफल पार्न लाग्नुपर्ने बताएका छन्।
सोमबार आगजनीबाट क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको सरसफाइमा पुगेका उनले अब अन्य विकल्प खोज्न नहुने समेत बताए। ‘अहिले देशमा अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा हामीले अब त्यही स्थितिबाट घोषित मितिमा चुनाव हुनुपर्छ भनेर एकजुट भएर जानुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘त्यसमा अहिले हामीले अरु विकल्पको कुरा गर्नुहुँदैन।’
यदि यो सरकार असफल भयो र निर्धारित मितिमा चुनाव हुन सकेन भने देश गम्भीर संकटमा पर्न सक्ने भन्दै श्रेष्ठले भने, ‘देश भयावह संकटमा फस्ने खतरा छ। त्यसकारण सबैले अहिलेको आवश्यकतालाई ध्यान दिएर जेनजी आन्दोलनको उपलब्धीलाई कुनै हालतमा गुम्न नदिनेगरी अहिले अन्तरिम सरकारलाई सफल पार्न हामीले मदत गर्नुपर्दछ।’
उनले सरकारलाई पनि निर्वाचन सम्पन्न गर्ने दिशामा मात्र केन्द्रित हुन आग्रह गरेका छन्। श्रेष्ठले भने, ‘सरकारले मुख्य कुरा यसैलाई बनाओस्। अरु छिटफुट कुरामा तपाईंहरू नलाग्नुहोस्। निर्वाचन सम्पन्न गर्ने कुरालाई केन्द्रित गरेर त्यसमै लाग्नुहोस्।’
उनले भदौ २३ गते भएको दमन र त्यसपछिका तोडफोड तथा आगजनी घटनाको छानबिन गरी दोषीमाथि निष्पक्ष कारबाही गर्न पनि माग गरे। ‘२३ गते जुन दमन भयो, भोलिपल्ट जनु तोडफोड र आगजनी भयो, त्यसको छानबिन गरेर निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गरियोस्,’ श्रेष्ठले भने।
Shares

प्रतिक्रिया