राजनीति


सभामुख र उपसभामुख किन गएनन् मन्त्रीहरूको शपथमा?

सभामुख र उपसभामुख किन गएनन् मन्त्रीहरूको शपथमा?

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १९:४१, काठमाडौँ

सोमबार बिहान शीतलनिवासमा अन्तरिम सरकारका तीन मन्त्रीले शपथ लिए। 

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रायको जिम्मेवारी कुलमान घिसिङले र र कानुन गरी दुई मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हाले।

बिहान साढे ११ बजे आयोजना गरिएको शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उपस्थित भए।

तर, त्यस समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना भने देखा परेनन्।

गत शुक्रबार राति प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा सभामुख घिमिरे, उपसभामुख राना र राष्ट्रिय सभाका अध्यक्ष दाहाल पनि थिएनन्। 

उनीहरू आन्दोलनकारीको तारो बन्न सक्ने जोखिमको आकलन गरी सुरक्षा संयन्त्रको सुझावअनुसारै आश्रयस्थलबाट ननिस्केको  शीतलनिवास र बालुवाटारका अधिकारीहरू लख काटिरहेका थिए। जबकि, सभामुख घिमिरेले बिहीबार शीतलनिवास पुगी राष्ट्रपति पौडेललाई भेटेको थिए। 

मन्त्रीहरूको शपथमा भने राष्ट्रिय सभाका अध्यक्ष दाहाल उपस्थित हुँदा सभामुख र उपसभामुख अनुस्थित रहे।

सभामुख घिमिरेका सहयोगीहरूका अनुसार, उनी स्वास्थ्य र सुरक्षा दुई कारण जनाएर अनुपस्थित रहे। ‘उहाँको टाउको पनि दुःखेको थियो। अहिले बाहिरको वातावरण पनि त्यति सङ्लिइसकेको छैन। सायद सुरक्षा विश्लेषण पनि त्यस्तै भयो होला,’ घिमिरेनिटक स्रोतको भनाइ छ।

यता उपसभामुख राना भने सोमबार कार्यालय नै पुगेकी थिइन्। उनले आफ्नो कार्यकक्ष र संसद् सचिवालयको निरीक्षण गरिन्। भाग्यवश, सिंहदरबारका धेरै मन्त्रालय र अरू केन्द्रीय कार्यालय विध्वंशको शिकार हुँदा संसद सचिवालय सुरक्षित थियो।

कार्यालय गएकी राना शीतलनिवासमा त्यति महत्त्वपूर्ण समारोहमा किन अनुपस्थित भइन् त?

नेपालखबरले यो जिज्ञासा राख्दा उनले भनिन्, ‘त्यहाँ (शीतलनिवास) बाट आधा घण्टा अगाडि मात्रै खबर आयो। कसरी जानु त? सम्भव नै भएन। ड्राइभर नै छैन। म ट्याक्सीमा हिँडिरहेको छु। ट्याक्सी लिएर शीतलनिवासमा भित्र जान दिँदैन त।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad