राजनीति


सुरक्षाको ग्यारेन्टी कुर्दै ओलीसहित दर्जन नेता सेनाको ब्यारेकमै, अरु डेरा खोज्दै सर्दै

सेनाको सूचना अटेर गर्दा कुटपिटमा परे शेरबहादुर र आरजु
सुरक्षाको ग्यारेन्टी कुर्दै ओलीसहित दर्जन नेता सेनाको ब्यारेकमै, अरु डेरा खोज्दै सर्दै

उजिर कार्की
भदौ ३०, २०८२ सोमबार २२:२९, काठमाडौँ

भदौ २४ गते ५ पूर्वप्रधानमन्त्रीसहित झण्डै सय जना नेता, मन्त्री र कर्मचारीहरू सुरक्षाका लागि सेनाका विभिन्न ब्यारेकमा पुगेका थिए। तीमध्ये अधिकांश डेरा फर्किंदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनजति नेता भने अझै ब्यारेकमै बसिरहेका छन्। 

सेनाले धेरै नेतालाई शिवपुरीस्थित ब्यारेकमा लगेर राखेको थियो। तर प्रधानमन्त्री ओलीसहितको टोली भने ललितपुरको एउटा ब्यारेकमा बसिरहेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएलगत्तै बालुवाटारस्थित सरकारी निवासबाटै सेनाको हेलिकोप्टर लगेर उद्धार गरिएको थियो। यस्तै पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई पनि सेनाले ब्यारेकमा लगेर सुरक्षा दिएको थियो। यीमध्ये ओलीबाहेक सबै नेता ब्यारेकबाट फर्किसकेका छन्। 

तर प्रधानमन्त्री ओली सुरक्षा चुनौतीका कारण अझै ब्यारेकमै छन्। अरु केही नेता पनि घरसहित सबै सम्पत्ति जलेको र सुरक्षा चुनौती पनि देखिएकाले ब्यारेकबाट निस्किएका छैनन्। नेपाली सेनाले पनि अझै सुरक्षा चुनौती टरिनसकेको बताएको छ। 

यसअघि २४ गते रातिबाट कर्फ्यु लगाएर खटाइएका सैनिकहरू अहिले पनि नजिकैका ब्यारेकमा फर्किएका छन्। उनीहरू जुनसुकै बेला जस्तोसुकै अवस्था आउन सक्ने आकलनसहित तैनाथ छन्। 

काठमाडौँ उपत्यकाबाहिरबाट ल्याइएका थप जनशक्ति पनि फिर्ता गरिएको छैन। सेना अन्तरिम सरकार बनेसँगै सडकबाट त हटेको छ तर नेताहरूको सुरक्षा भने अझै गरिरहेको छ।

‘जटिल अवस्थामा सुरक्षा दिनु हाम्रो कर्तव्य हो। कतिपयले डेरा खोजिरहनु भएको छ। कतिपय आफन्तकोमा बस्छु भन्दै फर्किनु भएको छ। हाम्रा ब्यारेकमा हिजोसम्म १५–२० जना हुनुहुन्थ्यो। आज थप नेताहरू निस्कनु भएको छ। तर को–को नेताहरू कहाँकहाँ हुनुहुन्छ भनेर सुरक्षाका हिसाबले हामीले भन्न मिल्दैन,’ सैनिक स्रोतले भन्यो। 

यसअघि शिवपुरी र भैरवनाथ गणमा राखिएका नेताहरूलाई पनि एकअर्कालाई भेट गर्न दिइएको थिएन। सुरक्षाकै कारण भन्दै मोबाइल चलाउन पनि रोक लगाइएको थियो। सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै सेनाले उनीहरूलाई मोबाइल चलाउन खुला गरेको थियो। 

ओली राजीनामा दिनुपहिले नै राजीनामा दिइसकेका एक मन्त्रीले भने, ‘भैँसेपाटीबाट सरिसकेका थिएनौँ। सेनाले हेलिकोप्टर ल्याएर लगेको थियो। हामी अहिले आफन्तकोमा बसिरहेका छौँ। हाम्रो त सबै सम्पत्ति खरानी भयो। अब बिस्तारै डेरा खोजेर सर्नु पर्ला।’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल जलेको घरनजिकै डेरा खोजेर बसेका छन्। बाबुराम भट्टराई आफन्तको बसेका छन्। माधव नेपाल र प्रचण्डले पनि घर छाड्नु परेको छ। उनीहरू अन्यत्रै बसिरहेका छन्। 

निवर्तमान प्रधानमन्त्री ओलीसहित केही मन्त्रीहरू र उनीहरूका परिवार भने सेनाकै सुरक्षामा छन्। 

ओलीका एक आफन्तले भने, ‘सरकारले सुरक्षाका लागि कस्तो निर्णय गर्छ, त्यसपछि हामीले कहाँ, कसरी बस्ने भन्ने निर्णय गर्छौँ। हामी सरकारको निर्णय कुरिरहेका छौँ। सरकारले निर्णय दिन सक्दैन भने त्यही अनुसारको व्यवस्था गर्नपर्ने हुन्छ।’

भदौ २३ गते १९ जना जेनजी प्रदर्शनकारी प्रहरीको गोलीबाट मारिएका थिए। प्रहरीको घेरा तोड्दै अगाडि बढेका युवाहरू संसद भवन प्रवेश र तोडफोड आगजनीमा उत्रिएपछि प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो। 

घाइतेहरूले राजधानीका अस्पताल भरिभराउ थिए। जेनजी अन्दोलनलाई खेलाँची ठानेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बेलुकी आपत आइलागिसकेको थियो। 

लेखकले तत्कालै मन्त्रीबाट राजीनामा दिए। तर जेनजीको एउटा पनि माग सम्बोधन गर्ने निर्णय त्यसदिनको मन्त्रिपरिषद् बैठकले गरेन। पछि कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई भेटेर सामाजिक सञ्जाल खुला गर्ने निर्णय गर्न भने। निर्णय नगरी सरकारले राति १० बजेबाट बन्द गरिएका सामाजिक सञ्जाल अघोषित रूपमा सञ्चालनमा ल्यायो। 

तर त्यतिबेलासम्म भोलिपल्टको आन्दोलनले उग्ररूप लिने छनक मिलिसकेको थियो। पहिलो दिन आन्दोलनमा नगएकाहरूले पनि भोलिपल्टको आन्दोलनका लागि आह्वान गरिरहेका थिए। ओली र देउवा उनीहरूका निकटबाहेक सबैले आन्दोलनलाई समर्थन गरिसकेका थिए। यसरी एक्लिसक्दा पनि ओलीले आफ्नो हठ छाडेका थिएनन्। 

कांग्रेसमा देउवालाई पनि सरकारबाट बाहिरिने निर्णय गर्न दबाब थियो। अघिल्लो दिन कुनै निर्णय नगरेका उनले भोलिपल्टलाई बैठक राखे पनि त्यो बैठक बस्न सकेन। ओलीले पनि राजीनामा दिन गरिएको चौतर्फी दबाबलाई वास्तै गरेनन्।

माओवादी अध्यक्ष प्रचण्ड भने दोस्रो दिन बिहानसम्म पनि सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनलाई समर्थन गर्दै थिए। चौथो र पाँचौँ दल रास्वपा र राप्रपा आन्दोलनमै सामेल देखिए। 

बहालवाला मन्त्रीहरू सबैसँग एकएक जना नेपाली सेनाका अधिकारी सुरक्षामा खटिन्छन्। केही मन्त्रीले बिहानै राजीनामा दिइसकेका भए पनि उनीहरूका अंगरक्षक फिर्ता भइसकेका थिएनन्। आन्दोलन सुरु हुनु पहिले नै जंगी अड्डाले सबै नेताहरूलाई सुरक्षित स्थानमा सार्न सर्कुलर गरिसकेको थियो।

आन्दोलन उर्लिंदै जाँदा नेताहरूको भागाभाग चल्न थाल्यो। सेनाले शीर्ष नेता, मन्त्रीहरू र सुरक्षा चुनौती देखिएका सबैलाई नजिकका ब्यारेकमा राख्न थाल्यो। 

उता बिहानैबाट आन्दोलन व्यक्तिकेन्द्रित हुँदैगयो। धेरैजसो मन्त्रीहरू भैँसेपाटीस्थित मन्त्री निवासमै थिए। कोही बालुवाटार थिए। सेनाले जोजो जहाँ छन्, उनीहरूलाई त्यहीँबाट उठाएर नजिकैको सैनिक ब्यारेकमा राख्न थाल्यो। तर बुढानीलकण्ठस्थित निवासमै रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरज राणा भने सेनाको सूचनापछि पनि घर छाड्न तयार भएनन्। 

देउवा निवासमा अघिल्लो दिनबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाइएको थियो। यता आन्दोलनकारीले बिहानैदेखि देउवाचोकमा जम्मा हुन सामाजिक सञ्जालमा आह्वान गरिरहेका थिए। 

भीड बढ्दैबढ्दै देउवा निवास पस्यो। अघिल्लो दिन अत्यधिक बल प्रयोग गर्दा आलोचित बनेको प्रहरी त्यसदिन रक्षात्मक बनिसकेको थियो। त्यसैदिन उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका एआईजी दानबहादुर कार्कीले न्यूनतम बल प्रयोग गरेर रोक्न र त्यति गर्दा पनि नसके गोली नचलाउन आदेश दिएका थिए। 

प्रहरी कार्यालयमा आक्रमण भए हिरासतमा रहेका थुनुवाको तथ्यांक राखेर छाड्न, हातहतियार, सवारीसाधन र ज्यानको सुरक्षा गर्न आदेश एआईजी कार्कीले दिएका थिए। 

सेनाले अरु नेता–मन्त्रीलाई सुरक्षित स्थानमा सार्दै थियो। जो जहाँ छ त्यहीँबाट उठाउन सेनाका गाडी खटाइयो। तर देउवा दम्पतीले निवास छाडेनन्। सेनाले असुरक्षा हुने भन्दै पटकपटक ताकिता गर्‍यो। स्रोतका अनुसार आरजु तयार भए पनि देउवा यसरी भाग्न हुँदैन भन्न थाले। 

केहीबेरमा देउवाचोकबाट अगाडि बढेको भीड देउवा निवासमा पुग्यो। सुरुमा उनीहरूले गेट खुलाउन दबाब दिए। सुरक्षाकर्मीले गेट खोलेनन्। त्यसपछि गेट तोडफोड गरेर भित्र छिरेका आन्दोलनकारीले अन्धाधुन्ध प्रहार गर्न थाले। कोही झ्यालका सिसामा हान्न थाले, कोही गाडी फोड्न थाले। 

देउवा दम्पतीलाई एउटा हुल गएर बाहिर धकेल्न थाल्यो। भित्रैबाट कुटपिट गर्दै बाहिर निकाले। त्यतिबेलासम्म दुवैको शरीरबाट रगत बगिरहेको देखिन्थ्यो। सुरक्षाकर्मीहरू जोगाउने प्रयास गरिरहेका थिए। तर ढोकाबाहिर ल्याएर थप आन्दोलनकारीले देउवा दम्पतीलाई कुटपिट गरे। 

डीएसपीसहितको प्रहरी टोलीले आफ्नो ज्यान थापेर बचाउँदै लगे। मूलगेटबाट बाहिर निकाल्ने अवस्था भएन। पछाडि भर्‍याङ लगाएर सुरक्षाकर्मीले केही प्रदर्शनकारीको सहयोगमा तारबारसहितको कम्पाउन्डबाट उनीहरूलाई बाहिर निकाले। तर प्रदर्शनकारीले उनीहरूमाथि ढुंगा बर्साउन छाडेनन्। 

देउवा दम्पतीको सुरक्षाका लागि नेपाली सेनाको टोली पनि निवासमा पुगिसकेको थियो। उद्धारका लागि सेनाको हेलिकोप्टर पुग्यो। तर प्रदर्शनकारीले ढुंगा हानेर हेलिकप्टर बस्न सकेन। पटकपटक पुगे पनि सेनाको हेलिकोप्टर बस्न नदिएपछि सुरक्षाकर्मीहरूले अबेर गाडीमै एक अस्पताल पुर्‍याए। अहिले पनि उनीहरूको उपचार भइरहेको छ। दुवै जनाको अवस्था खतरामुक्त रहेको पनि सैनिक स्रोतले जानकारी दिएको छ। 

‘अझै केही दिन उहाँहरू अस्पतालमै बस्नुहुन्छ। डिस्चार्ज भएपछि कहाँ बस्ने भन्ने टुंगो लाग्ला,’ सैनिक स्रोतले भनेको छ। 

सेनाको सुरक्षाबाट फर्किएका नेताहरू भने आफ्नो घर र पार्टी कार्यालयको पुनर्निर्माणका लागि जुट्न थालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad