राजनीति


जेनजीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पत्तिको विध्वंश गरेर विकास हुँदैनः विद्यादेवी भण्डारी

जेनजीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पत्तिको विध्वंश गरेर विकास हुँदैनः विद्यादेवी भण्डारी

नेपालखबर
असोज ३, २०८२ शुक्रबार १८:४९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको टिप्पणी गरेकी छन्।

जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी शुक्रबार उनले यस्तो बताएकी हुन्। उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको धारणा पनि राखिन्।

शान्तिपूर्ण ढंगले आफ्ना माग राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको भन्दै उनले यसबारे राम्रोसँग अध्ययन हुनुपर्नेमा जोड दिइन्।

राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास नहुने उनको जिकिर थियो। 

उनले भनिन्, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ। यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरूलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्छ, २३ गतेको घटना सामान्य रूपमा हेरेको हो। नयाँ पुस्ता, जसलाई जेन जीको रूपमा परिभाषित गरेका छन्, उहाँहरू शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो। त्यो स्थिति रहेन। उहाँहरूले पनि प्रशासनसँग शान्तिपूर्ण रूपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन। तर जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो। यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ। जे भयो, यो एकदमै गलत भयो। शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरूप्रति कसरी प्रहारहरू भयो, त्यो पनि बुझ्नुपर्छ। कतापट्टिबाट सुरु भयो भन्ने कुरा। कसरी अचानक रूपमा आयो? राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन।’

उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताउँदै आवेग, उत्तेजनाभन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरि हित हुने गरी काम गर्नुपर्ने बताइन्। बदला र प्रतिशोधमा कोही जान नहुने उनको सुझाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad