प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिएकी छन्। सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै केही मन्त्रीको जिम्मेवारी थपघट गरिएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रालय घटाउँदा अर्थमन्त्री खनाललाई भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। यसअघि यो मन्त्रालय प्रधानमन्त्री कार्की आफैँले राखेकी थिइन्।
गृहमन्त्री अर्यालले सम्हालिरहेको कानुन मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ।
सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत हुन्। उनलाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी ३ मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
अर्यालसहित ४ मन्त्रीलाई भने १/१ वटा मन्त्रालयको मात्रै जिम्मेवारी छ। महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन प्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय र जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कुलमान घिसिङका यसअघिकै तीन मन्त्रालय यथावत छन्। उनले ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्री कार्कीसँग अझै परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डययन र स्वास्थ्य तथा जनसंख्या छन्।
११ सदस्यीय मन्त्री मण्डल बनाउने योजना सुनाएकी प्रधानमन्त्री कार्कीले अझै ३ मन्त्री नियुक्त गर्न बाँकी छ।

Shares

प्रतिक्रिया