आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री सुशीला कार्कीमाथि एकपछि अर्को तीखा प्रश्न गरेका छन्।
उनले प्रधानमन्त्री कार्कीलाई ‘जेन–जीको माग कहिले सम्बोधन गर्ने ?’ भनेर प्रश्न गर्दै वर्तमान सरकारलाई ‘हुकुमी र अदृश्य शक्तिबाट सञ्चालन हुने’ संज्ञा दिएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्दै साहले नेपालमा स्थायित्व नहुनुको मुख्य कारण ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली’ भएको बताए। उनले संसद् पुनर्स्थापना होइन, ‘ताजा जनादेशका लागि नयाँ निर्वाचन’ नै देशको निकास हो भने।
साहले भने, ‘अब देश चुनावमा जानुपर्छ, सरकारले भयरहित वातावरण बनाउनुपर्छ। हामीलाई जनताको जनविद्रोहको सम्बोधन चाहिएको हो, कुर्सीको सौदा होइन।’
उनका अनुसार अहिलेको व्यवस्था दलतन्त्रको ओढारमा परिणत भएको छ र यसले देशलाई प्रगतितर्फ लैजान सक्दैन। उनले दलगत स्वार्थ र विदेशी शक्तिहरूले देशलाई हाइज्याक गरेको आरोप पनि लगाए।
साहले जेन–जी आन्दोलनलाई जनताको विद्रोहको प्रतिक भन्दै त्यसलाई संस्थागत गर्नुको सट्टा विदेशीको पोल्टामा थुपारिएको दाबी गरे। उनले भने, ‘जेन–जी आन्दोलन कसैलाई कुर्सी दिनका लागि होइन, भ्रष्टाचार र दलतन्त्रविरुद्धको जनलडाइँ थियो।’
प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि उनले कडा टिप्पणी गर्दै भने, ‘प्रधानमन्त्री कार्की जनताको स्वामित्वमा नभई तिरस्कृत नेताहरूको प्रस्तावमा नियुक्त भएकी हुन्। अहिले उनी भन्छन्, ‘म जेन–जीलाई चिन्दिनँ।’ तर, जनताको आन्दोलनकै बलमा प्रधानमन्त्री बनेकी उनी आज त्यसलाई बेवास्ता गर्दैछिन्।’
साहले सरकारले सिंहदरबार र सर्वोच्च अदालतमा भएका तोडफोड तथा आगजनीप्रति कुनै चासो नदेखाएको आरोप लगाए । साथै, प्रधानमन्त्री कार्कीले करारका कर्मचारी हटाउने निर्णयलाई ‘गरिबमारा निर्णय’ भन्दै त्यसको फिर्ता माग गरे।
उनले चेतावनी दिए, ‘यदि करार कर्मचारी हटाउने निर्णय फिर्ता नलिइयो भने, आजपाले देशभरका करार कर्मचारीहरुलाई काठमाडौँमा उतार्नेछ।’
भूमिहीन र सुकुम्बासी नागरिकका हकमा बनेको भूमि समस्या समाधान आयोग खारेज गरेकोप्रति पनि उनले सरकारप्रति असन्तोष प्रकट गरे।‘संविधानले कुनै पनि जनतालाई भूमिहीन नबनाउने भनिएको छ, तर सरकारले त्यसको अपमान गरेको छ,’ उनले भने।
प्रधानमन्त्री कार्की र उनका मन्त्रीहरू जनतालाई दुःख दिने निर्णय गर्दै गएको आरोप लगाउँदै साहले भने, ‘मन्त्रीको बिजुलीको बिल सरकारले तिर्ने र जनताले आफ्नै बिल तिर्ने? यस्तो अन्याय स्वीकार्य छैन। उर्जामन्त्री कुलमान घिसिङले आफ्नो बिल आफैं तिर्ने साहस देखाउनुपर्छ।’
अन्त्यमा उनले चेतावनीस्वरूप भने, ‘देशलाई दलतन्त्रको बन्दीबाट मुक्त गर्न अब तेस्रो जनआन्दोलन अपरिहार्य बनेको छ। नेपाली जनता अब चुप लागेर बस्दैनन्, यो व्यवस्था परिवर्तन गर्न जनआन्दोलनमै जानुपर्छ।’
Shares

प्रतिक्रिया