राजनीति


मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

मिले बाबुराम-जनार्दन-सन्तोष, भोलि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुने

नेपालखबर
मंसिर ६, २०८२ शनिबार २०:३६, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार एउटै पार्टी बनाउन सहमत भएका छन्।

भट्टराईको पार्टी नेसपा (नयाँ शक्ति), शर्माको प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच एकताको घोषणा गर्न आइतबार (भोलि) बिहान ११ बजे राष्ट्रिय सभा गृहमा कार्यक्रम राखिएको छ। 

एकतापछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिने छ। चुनावका लागि यही नाम निर्वाचन आयोगमा दर्ता भइसकेको समेत नेताहरूले बताएका छन्।

चुनाव चिह्न नेसपा (नयाँ शक्ति)ले प्रयोग गर्दै आएको आँखा हुनेछ। पार्टीको झण्डा भने अझैँ टुंगो लगाउन बाँकी छ। 

महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदायलाई समेत समेटेर ५/६ जनाको अध्यक्षमण्डल बनाउने सहमति बनेको छ। 

एकताको पूर्वसन्ध्यामा तीनवटै पार्टी र समूहले बैठक र भेला सम्पन्न गरेका छन्। 

नेसपा(नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक केन्द्रीय कार्यालय तीनकुनेमा बसेको छ। 

आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले एकताबारे जानकारी गराएका थिए।

त्यस्तै शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको पनि आजै राष्ट्रिय भेला भएको छ। त्रिपुरेश्वरमा भएको भेलामा शर्मासहित राम कार्की, सुदन किराँतीलगायत नेताहरूले नयाँ पार्टी घोषणा गर्न लागेकोबारे जानकारी गराएका थिए। 

त्यस्तै परियारले पनि आफ्नो समूहमा एकताबारे छलफल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad