प्रधानमन्त्री सुशीला कार्की भेट्न भनेर प्रधानमन्त्रीको कार्यालय पुगेको जेनजीको एउटा समूह निकै जोशिलो देखिन्छ। त्यहाँ पुगेर तातिएका उनीहरू एकआपसमै विवाद गर्छन्। प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सचिवालयका व्यक्तिहरूलाई थर्काउँछन।
यो प्रकरणको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ। वास्तवमा मंगलबार प्रधानमन्त्री कार्यालयमा के भएको हो? खोजी गर्दा अरु रहस्य भेटिए।
भिडिओ सँगसँगै चर्चामा आएको अर्को कुरा थियो– त्यो दिन प्रधानमन्त्रीको कार्यालयमा भन्दा ठूलो धक्कामुक्की युवा तथा खेलकूद मन्त्रालयमा भएको पाइएको छ।
प्रधानमन्त्रीको कार्यालयबाट निस्केको समूह त्यसपछि अंग्रेजीका ‘स्ल्याङ’ शब्द बोल्दै युवा तथा खेलकूद मन्त्रालय प्रवेश गर्यो। त्यो समूहको एक सदस्य थिए जितेन्द्र प्रताप यादव। उनी एक जना जेनजी अगुवा हुन् जो केही समय अगाडि खेलकूद मन्त्रालयतिरै भेटिन्थे।
यो पटक उनी मन्त्रालय पुग्दा भने त्यहाँ शिव यादव बसिरहेका थिए। उनी काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोजक हुन्।
सुदन गुरुङ निकट एक जेनजीका अनुसार त्यो दिन मन्त्रीका पूर्व र वर्तमान सहयोगीबीच विवाद भएको हो। हामीले शिव यादवलाई सम्पर्क गरेका थियौँ। झडपको विषयमा उनी बोल्न चाहेनन्।
हामी कुटपिटमा संलग्न भनेर प्रचार गरिएका शिव यादवको सम्पर्कमा पुग्याैँ। उनले कुरा गर्न रूचि देखाएनन्। यति मात्र भने, ‘घाइते भएको हो भने घाइतेलाई नै सोध्नुहोस्।' ती घाइते को हुन्, उनले बताएनन्।
त्यो दिनको तथ्य के हो? के प्रधानमन्त्री कार्यालयबाट रिसाउँदै निस्केको जितेन्द्रको समूहले शिवलाई धक्कामुक्की गरेको हो? अस्पताल जाने गरी घाइते बनाएको हो? अथवा यी सब हल्ला हुन्? यो विषयको तथ्य जाँच गर्न नेपालखबरले युवा तथा खेलकूद मन्त्री बब्लु यादवसँग गरेको छोटो कुराकानीः
जेनजी समूहहरूबीच तपाइँको मन्त्रालयमा धक्कामुक्की भयो भन्ने कुरा सुनियो, हो ?
यहाँ उनीहरूको भनाभन भएको हो।
तनाब पनि भएको हो नि होइन?
म जेनजीको मन्त्री, जेनजीहरू आएका थिए। वादविवाद भएको हो। हान्ने र कुट्ने केही भएको होइन। जेनजी भनेको ‘योङ ब्लड’ पनि हो। हजुर, तपाइँको सट्टा साथीभाइमा ‘अरे बस न यार’ जस्तो अलि अनौपचारिक कुरा भइहाल्छ नि।
खेलकूद मन्त्रालयमा हानाहान भयो, एउटा त घटनास्थलमै घाइते भयो रे भन्ने पनि पो कुरा छ, खास के हो त?
तपाईंले भनेको कुरा मैले पनि सुनेँ तर यहाँ यत्रा सुरक्षाकर्मी छन्। सचिवालय र अरु मान्छेहरू छौँ। यहीँ कुटपिट हुने, हान्ने ढाल्ने कुरा कसरी हुन सम्भव हुन्छ!
त्यो दिन भएको चाहिँ के हो त ?
प्रधानमन्त्रीसँग भेट हुन नपाएपछि उहाँहरूलाई लागेछ कि यहाँ जेनजी मन्त्री छ, यता पसौँ। उहाँहरू २०–३० जना हुनुहुन्थ्यो। त्यति मान्छेका लागि त यो (मन्त्रीको कार्यकक्ष) कोठ पनि सानो हो। समूहमा बोल्दा अलि ठूलो सुनियो होला। त्यस्तो केही पनि भएको होइन।
कोही पनि घाइते भएको होइन त?
भिडभाडमा बोल्दा अलि ठूलो सुनियो होला। त्यसैलाई मान्छेले झगडा भनेर फैलाए होला। त्यस्तो केही होइन। त्यो दिनको सीसीटीभी रेकर्ड पनि छ नि।
Shares

प्रतिक्रिया