राजनीति


जेनजीको नाममा मन्त्रीको कार्यकक्षमै हानाहान, प्रधानमन्त्री कार्यालयमा लफडा

जेनजीको नाममा मन्त्रीको कार्यकक्षमै हानाहान, प्रधानमन्त्री कार्यालयमा लफडा

शिव यादव (बायाँ) र जितेन्द्रकुमार महतोबीच हानाहान भएपछि मन्त्री बब्लु गुप्ताले छुट्याएका थिए


आयुषा ढकाल
मंसिर १३, २०८२ शनिबार १७:१९, काठमाडौँ

मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री बब्लु गुप्ताकै अगाडि दुई जेनजी समूहबीच कुटाकुट भयो। शिव यादव र जितेन्द्रप्रताप सिंह भनिने जितेन्द्रकुमार महतो सुरुमा भनाभन गर्दै थिए। एकैछिनमा अपशब्द प्रयोग गरे र अन्त्यमा हात हालाहाल भयो।

मन्त्रीकै कार्यकक्षमा कुटाकुट हुन थालेपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले शिव र जितेन्द्रलाई छुट्याएका थिए। गुप्ताले दुवै जनालाई सम्झाएर पछि सहमतिमा ल्याएको बताइएको छ। तर यो घटनाले सिंहदरबार परिसर र खासगरी मन्त्रालयका कर्मचारीहरूबीच त्रासको वातावरण सिर्जना गरेको छ। 

यो झगडाको सुरुवात भने त्यसअघि प्रधानमन्त्री कार्यालयमै भएको थियो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले सचिवालयमा श्रीमतीलाई नियुक्ति दिएको विषयमा सोधीखोजी गर्न जेनजी युवाहरूको एक समूह बिहान ११ बजे नै त्यहाँ पुगेको थियो। यसरी जाने जेनजीहरूमा सुप्रिया राज्यलक्ष्मी शाही, सोम शर्मा, लोकेन्द्र सार्की, इन्द्र रोकाया, नरेन्द्र विक लगायत थिए।

जितेन्द्रकुमार महतोका अनुसार प्रधानमन्त्री कार्यालयको ढोकामा बसिरहेको समयमा उनीहरूलाई भित्रको एउटा कोठामा लगेर राखियो। त्यहाँ पुगेपछि उनीहरूसँग सामाजिक सञ्जाल पेज सञ्चालकहरूले कुराकानी गरेर प्रधानमन्त्रीको राजीनामा माग गरेको भिडियो बनाउँदै पोस्ट गर्न थाले।

‘हामी प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा स्पष्टीकरण लिन र प्रधानमन्त्रीको राजीनामा माग्नै गएका थियौँ,’ जितेन्द्र भन्छन्, ‘प्रधानमन्त्रीसँग भेट्न चाहन्थ्यौँ।’

प्रधानमन्त्रीका सल्लाहकार गोविन्द तिमल्सिनासँग कुरा गरेर आफूहरू प्रधानमन्त्री कार्यालय पुगेको जितेन्द्रको भनाइ छ। उनीहरूले त्यहाँ निकै ठूलो हल्लाखल्ला गरेका थिए।

‘हामी बिहान खाना पनि नखाई गएका थियौँ, बेलुकासम्म कुराए, त्यही आक्रोश पनि हो,’ जितेन्द्रले भने।  

जेनजीको नाममा उनीहरूले ‘यो सरकार हामीले बनाएको हो’ भन्दै प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूलाई घेरेर थर्काएका थिए। उनीहरूले गालीगलौज गर्नुका साथै कुटौँला झैँ गरेको भिडिओहरूमा देख्न सकिन्छ। प्रहरीले रोक्न खोज्दा पनि उनीहरू रोकिएका छैनन्। खासगरी सुप्रिया राज्यलक्ष्मी शाही र जितेन्द्रप्रताप सिंह ज्यादा आक्रोशित देखिन्छन्।  

शिव यादव

सो दिन प्रधानमन्त्री कार्यालयमा काउन्सिल अफ जेनजीका मधेश प्रदेश संयोजक शिव यादवको समूह पनि पुगेको थियो। 

प्रधानमन्त्री कार्यालयमा लफडा भएपछि शिवको समूह त्यहाँबाट निस्कियो र खेलकुद मन्त्रालयतर्फ लाग्यो। शिवको समूह मन्त्री बब्लु गुप्तासँग उनको कार्यकक्षमा बसिरहेका बेला जितेन्द्रको समूह पनि त्यहीँ आइपुग्यो। उनीहरूबीच सुरुमा भनाभन भयो र लगत्तै हानाहान हुन थाल्यो।

शिव र जितेन्द्रको समूहबीच हानाहान हुँदा एकछिन त मन्त्री गुप्ता हेरेको हेर्‍यै भए। प्रत्यक्षदर्शी एक जेनजी प्रतिनिधिका अनुसार दुई पक्षलाई छुट्याउन खोज्दा मन्त्री गुप्तालाई पनि केही मुक्का लाग्यो।

लगत्तै एक जना डिएसपी मन्त्रीको कार्यकक्षमा प्रवेश गरेपछि हानाहान रोकियो। अनि दुवै समूह त्यहाँबाट निस्किए। पछि मन्त्री गुप्ताले नै ‘घटना बाहिर नल्याउनु’ भन्दै दुवै पक्षबीच मेलमिलाप गराइदिए।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारमा बब्लु गुप्ता एक मात्र जेनजी मन्त्री हुन्। उनले नेपालखबरसँग यो घटनाबारे कुरा खोल्न चाहेनन्।मन्त्री गुप्ताले २०–३० जनाको समूह सानो कक्षमा एकैपटक बोल्दा ठूलो आवाज आएको मात्रै दाबी गरे।

‘म जेनजीको मन्त्री, जेनजीहरू आएका थिए। वादविवाद भएको हो। हान्ने र कुट्ने केही भएको होइन। जेनजी भनेको ‘योङ ब्लड’ हो। हजुर, तपाईंको सट्टा साथीभाइमा ‘अरे बस न यार’ जस्तो अलि अनौपचारिक कुरा भइहाल्छ नि,’ गुप्ताले भने।

शिव यादवले पनि कुटपिट नभएको दाबी गरे। प्रधानमन्त्री भेट्न नपाएका जेनजीले बब्लु गुप्ताको मन्त्रालयमा गएर आक्रोश मात्र पोखेको उनको दाबी छ।

तर, त्यहाँ उपस्थित जितेन्द्र र शिवनिकटका युवाहरूले हानाहान भएको सुनाए।

जितेन्द्र आक्रोशित हुँदै भन्छन्, ‘अब म मन्त्रालय जादिनँ। सरकार विदेशीको इसारामा बनेको हो। यो सरकारले हाम्रो केही माग नै पूरा गर्न सक्दैन, कामै नलाग्ने भयो। सबैलाई मुद्दा हाल्छु।’

केही समयअघि आफू सुदन गुरुङको समूहमा भए पनि अहिले मिराज ढुंगानासँग मिलेर अघि बढ्न खोजेको उनको भनाइ छ।

जितेन्द्रकुमार महतो

सिंहदरबार नै त्रसित्
जेनजीहरूको उछृंखल गतिविधिबाट मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका कर्मचारी त्रसित छन्। आफूहरूलाई बिनाकारण थर्काएको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकृतले भने, ‘जेनजीका अनेक समूह आउँछन्। आउनेबित्तिकै अहिलेको अहिल्यै प्रधानमन्त्रीलाई भेट्न खोज्छन्। राम्रो व्यवहार गरिदिए सबै काममा केन्द्रित हुन पाइन्थ्यो। कोही कोहीले त होहल्ला नै गर्छन्। सबैजना उस्तै भन्न खोजेको होइन। कोही राम्रा पनि आउँछन्।’

मंसिर ८ गते प्रधानमन्त्री कार्यालयमा लफडा र पछि युवा तथा खेलकुद मन्त्रालयमा कुटाकुट नै परेपछि आफूहरू त्रसित् भएको मन्त्रालयका एक कर्मचारीले बताए।

यसैगरी मंसिर १० गते उर्जा मन्त्रलयमा पनि केही जेनजीहरूले गएर होहल्ला र अराजकता देखाएको सो मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

यसबारे प्रश्न गर्दा सुदन गुरुङ नेतृत्वको काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ भने आफूलाई जेनजी भन्ने सबैको जिम्मेवारी लिन नसकिने बताउँछन्।

‘हामीले नैतिक हिसाबले नयाँ सरकारको गतिविधिमा सहयोग गर्ने, रचनात्मक खबरदारी सँगसँगै सहयोग गरेर चुनावी वातावरण बनाउने बाटो तय गरेका छौँ। तर, भदौको आन्दोलनमा कुनै सरोकार नै नभएका, पुस्ता मात्रै एउटा परेको अनि यो व्यवस्था, संविधान फाल्छौँ भन्नेहरूको जिम्मा हामी लिन सक्दैनौँ,’ चाम्लिङ भन्छन्।

अवसर पर्खिराखेका स्वार्थ समूहहरूबाट जेनजीको नाममा अस्वाभाविक गतिविधि भइराखेको र तिनको गतिविधिलाई सरकारले कडाइ गर्नुपर्ने उनको भनाइ छ।

‘यस्तो अराजक र असहिष्णु गतिविधिले जेनजी खराब हुन् भन्ने भाष्य निर्माण गर्छ र आन्दोलनलाई कमजोर पार्छ,’ चाम्लिङ भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad