नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टादेखि भेटवार्ता जारी छ।
भेटवार्ताका लागि एमाले अध्यक्ष ओली महाराजगन्जस्थित देउवा बसिरहेको घरमा पुगेका हुन्। दुवै नेताबीचको छलफलमा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि छन्।
यसअघि कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमति हुनुअघि कांग्रेस सभापति देउवा ओली निवास बालकोट पुगेका थिए। २०८१ असार १५ मा भएको भेटवार्तामा आरजु पनि देउवासँगै बालकोट पुगेकी थिइन्। त्यतिवेला देउवा र ओलीबीच साढे तीन घण्टा वार्ता भएको थियो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच औपचारिक रुपमा भेटवार्ता भएको थिएन। जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजुमाथि आक्रमण भएको थियो।
घाइते भएका देउवा दम्पत्ति उपचारका लागि सिंगापुर पुगेका थिए। केही समयअघि मात्रै उनी उपचार गरेर नेपाल फर्किएका थिए।
Shares

प्रतिक्रिया