राजनीति


मधेसका मुख्यमन्त्रीले फेरे बोली: मैले मंसिर २४ मै विश्वासको मत लिन्छु भनेको छैन

कांग्रेसका शीर्ष नेतालाई भेट्न मंगलबार काठमाडौँ आउँदै मुख्यमन्त्री कृष्ण यादव
मधेसका मुख्यमन्त्रीले फेरे बोली: मैले मंसिर २४ मै विश्वासको मत लिन्छु भनेको छैन

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८२ सोमबार १२:१३, काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेशसभामा विश्वासको मत लिने दिन नटुंगिएको बताएका छन्। 

आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दा यादवले यही मंसिर २४ गते विश्वासको मत लिने प्रचार गरिएको थियो। मुख्यमन्त्री यादवले त्यसरी गरिएको प्रचार गलत भएको बताएका हुन्।

यादवले आफूले २४ गते नै विश्वासको मत लिने भनेर नभनेको दाबी गरे। 

‘मैले मंसिर २४ गते नै विश्वासको मत लिन्छु भनेको छैन,’ यादवले नेपालखबरसँग भने, ‘कसले त्यो भन्यो मैले बुझेको छैन। दिन टुंगो नभए पनि चाँडै लिन्छु। विश्वासको मत कहिले लिने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्छ।’

आइतबार भएको मुख्यमन्त्री यादवको पद तथा गोपनीयताको शपथपछि सत्ता घटकमध्येको जसपाका प्रमुख सचेतक रामअशीष यादवले मुख्यमन्त्री यादवले कात्तिक २४ गते नै विश्वासको मत लिने सहमती भएको बताएका थिए। 

कांग्रेस नेता यादव यही मंसिर १९ गते एमाले बाहेको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले आइतबार नै तीन सदस्यीय मन्त्रीपरिषद् समेत गठन गरेका छन्। 

यादवले आजदेखि मधेस प्रदेश भ्रमण सुरु गरेका छन्। उनले अब आफू प्रदेशका आठवटै जिल्लामा पुग्ने कार्यक्रम तय भएको बताए।कार्यकर्ता भेटघाटको क्रममा मुख्यमन्त्री यादव आज बिहान महोत्तरी आएका छन्। त्यसक्रममा उनले बर्दिबासका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीसहितका कांग्रेस नेता कार्यकर्तासँग छलफल गरेका छन्। 

यादव भोलि दिउँसो कांग्रेसका शीर्ष नेतालाई भेट्न काठमाडौँ आउँदैछन्। ‘उहाँले मंगलबार काठमाडौँ जाने र बुधबार फर्किने भन्नु भएको छ,’ माओवादीका एक सांसदले भने, ‘त्यतिन्जेलसम्म अब मधेसमा सरकार विस्तारको काम हुँदैन।’

सात दलबीच मन्त्रालय बाँडफाँडमा सहमती नहुँदा मधेसमा मन्त्रिपरिषद्ले पूर्णता पाउन समय लाग्ने देखिएको छ। जसपा र माओवादी केन्द्र दुवैले भौतिक पूर्वाधार मन्त्रालय दाबी गर्दा सहमति जुट्न सकेको छैन। 

कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल आइतबार मन्त्री नियुक्त भएका छन्। 

जंगीलाल र पटेलले विनाविभागीय मन्त्रीको शपथ खाँदा जनमतका महेश यादवले प्रदेशमा महत्वपूर्ण मानिएको अर्थमन्त्रीमा नियुक्ति पाएका छन्। 

सत्तारुढ दलहरूबीच मधेस प्रदेश सभाका सभामुखमा पनि सहमती हुन बाँकी छ। सभामुखमा पनि जसपा र माओवादी केन्द्रले दाबी गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad