राजनीति


ओली प्रवृत्तिको अन्त्य गर्न चाहन्छौँ : सुरेन्द्र पाण्डे

ओली प्रवृत्तिको अन्त्य गर्न चाहन्छौँ : सुरेन्द्र पाण्डे

नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १४:१९, काठमाडौँ

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न चाहेको बताएका छन्। 

एमालेको १ औं महाधिवेशनको सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरूलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताए। उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा नेता हुन्। पोखरेलले एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुर्क्यौँ। हामी यसको विपक्षमा छौँ।’

उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क गरे। उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने जिकिर गरे। 

‘कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आफैले आफ्नो नेता आफैँ मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौँ,’ उनले भने, ‘यो परिपाटीलाई हामीले पार्टीको आधारभुत परिपाटीको रुपमा विकास गर्‍यौँ भने यो पार्टीलाई कसैले छुन सक्दैन। कसैले हल्लाउन सक्दैन।’

कार्यकर्ताले आफ्नो नेता आफै छान्ने परिपाटीको विकास गर्ने लडाइमा लागेको बताए। ‘यही लडाई यो महाधिवेशनको लडाईँ हो। यो लडाईमा हामी जित्न सकौँ। जित्नेगरी अगाडि बढौं,’ पाण्डेले भने। 

उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरि संशोधन गरेको भन्दै आपत्ति जनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad