पतञ्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको मुद्दाले नयाँ मोड लिएको छ। विशेष अदालतले सोमबार यो प्रकरणसँग सम्बन्धित २५ मंसिर २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भएको निर्णय र उजुरीका फाइल मगाउन आदेश दिएसँगै मुद्दा सुनुवाइ अर्को चरणमा प्रवेश गरेको हो।
विशेष अदालतले सो प्रकरणमा विपक्षीका साक्षीलाई भौतिक उपस्थिति वा श्रव्यदृश्यमार्फत उपस्थित गराई वकपत्र गर्न पनि आदेश गरेको छ।
'प्रतिवादीहरूको साक्षी निज प्रतिवादीहरू मार्फत झिकाई भौतिक रुपमा वा भिडियो कन्फरेन्समार्फत् उपस्थित गराई बकपत्रको निमित्त इजलास समक्ष पेश गर्नु', आदेशमा भनिएको छ।
यो मुद्दामा थुनछेक बहस गत असारमै भइसकेको छ। अदालतले पूर्व प्रधानमन्त्री नेपाललाई साधारण तारिखमा छोड्न इन्कार गर्दै धरौटी मागेको थियो। पुराना निर्णय र उजुरी मगाउने आजको अदेशले मुद्दा छिटै पूर्ण सुनुवाइतिर जाने संकेत गर्छ।
गत जेठ २२ गते अख्तियारले पूर्वप्रम नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
Shares

प्रतिक्रिया