नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार अपराह्नदेखि मतदान हुँदै छ। केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गरेका छन्।
दुवैले प्यानलै बनाएका छन्। अहिले दुवै पक्षका उम्मेदवार चुनावी प्रचारमा भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा व्यस्त छन्। ओली र पोखरेल पक्षका उम्मेदवारबीच सबै पदमा कडै प्रतिस्पर्धा हुने नेताहरू बताउँछन्।
त्यसमध्ये पनि महासचिव पदमा धेरैको चासो छ। अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले यो चासो स्वभाविक पनि हो। यसपटक महासचिव पदमा सबैभन्दा धेरैको चासो रहेको छ। किनकि, यसपकट यो पदमा चुनावी प्रतिस्पर्धा हुँदै छ।
२०७८ मंसिर २० मा चितवनको सौराहामा भएको १०औँ महाधिवेशनबाट शंकर पोखरेल महासचिवमा निर्विरोध निर्वाचित भएका थिए। अध्यक्ष लगायतका पदमा उम्मेदवारी पर्दा महासचिवमा कसैले उम्मेदवारी नदिएपछि पोखरेल निर्विरोध भएका थिए।
पहिलो कार्यकाल निर्विरोध महासचिव बन्ने अवसर पाएका पोखरेललाई फेरि ओलीले दोहोर्याएका छन्। तर, उनी यसपाली एक्लो उम्मेदवार छैनन्। उनलाई चुनाती दिन ईश्वर पोखरेल प्यालनबाट सुरेन्द्र पाण्डे अघि सरेका छन्।
रोचक त के छ भने पाण्डे १०औं महाधिवेशनका निर्वाचित उपाध्यक्ष हुन्। यसपटक उनी एक पद तल झरेर महासचिवको उम्मेदवार बनेका छन्। यसलाई पोखरेल पक्षका नेताहरूले ‘रणनीतिक कदम’ भनेका छन्।
यद्यपि, अध्यक्षपछिको कार्यकारी पद महासचिवमा पुग्ने भोक पाण्डेसँग पहिलेदेखि नै देखिन्छ। १२ वर्षअघिको नवौँ महाविधेशनमा पाण्डे अहिले उनकै प्यानलका अध्यक्ष बनेका ईश्वर पोखरेलसँग भिडेका थिए।
तर, उनीसँग जम्मा ६ मतले पराजित हुन पुगेका थिए। अहिले उनै ईश्वरको समूहबाट पाण्डे महासचिवमा ओली पक्षका शंकरसँग भिडिरहेका छन्।
लामो समय एमालेको भूगोल क्षेत्रको राजनीति गरेर केन्द्रमा आएका पाण्डे अध्ययनशील नेता मानिन्छन्। एमालेभित्र जनसम्पर्क बढाउन सक्ने क्षमता भएको नेताका रुपमा उनलाई चिन्ने गरिन्छ।
२०१७ सालमा धादिङको गजुरीमा निम्नवर्गीय परिवारमा जन्मिएका पाण्डेले २०३० सालदेखि कोर्डिनेसन केन्द्रबाट राजनीति थालेका हुन्। २०५४ सालमा पहिलोपटक राष्ट्रिय सभा सदस्य बनेका उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सूचीमा परे।
२०६६ सालमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा उनी अर्थमन्त्री बनेका थिए। अर्थमन्त्री हुँदा उनले सामाजिक सुरक्षाको कोषको अवधारणा, दलित-गैरदलित विवाहलाई १ लाख अनुदान, विधवा विवाहलाई ५० हजार अनुदान, ३५ जिल्लामा पोषणयुक्त खाजा लगायतका कार्यक्रम अघि सारेका थिए।
यसपाली पाण्डेलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ छ। भण्डारीको बागमती, कोसी र सुदूरपश्चिम प्रदेशमा पकड रहेको निकटहरू बताउँछन्। पूर्वराष्ट्रपतिको साथ र ओली समूहमा पहिलेजस्तो भावनात्मक एकता नभएकाले महासचिवमा जित निकाल्न सकिने विश्वास ईश्वर पोखरेल प्यालनका नेता, कार्यकर्ताहरूको विश्वास छ।
उता शंकर पोखरेल ओलीका खास विश्वास पात्र हुन्। उनी एमालेभित्र सिद्धान्तको व्याख्या गर्न सक्ने नेताको रुपमा चिनिन्छन्। अझ एमालेले अंगाल्दै आएको जनताको बहुदलीय जनवादको व्याख्यामा उनी विशेष दख्खल राख्छन्।
पोखरेल २०१९ सालमा दाङको विजौरीमा सम्पन्न परिवारमा जन्मिएका हुन्। उनी २०४६ सालको पहिलो जनआन्दोलनमा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। २०४७ सालमा माले-मार्क्सवादी एकतासँगै भएको नेप्रवियुसँगको एकतापश्चात अनेरास्ववियुको केन्द्रीय अध्यक्ष पनि बने।
त्यसपछि उनले पार्टी राजनीतिमा पनि छलाङ मारे। २०५४ सालमा नेपालगञ्जमा सम्पन्न एमालेको छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए। २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट सचिवमा निर्वाचित उनी २०७१ सालमा सम्पन्न नवौँ महाधिवेशनपछि स्थायी समिति सदस्य बनेका थिए।
२०५१ सालमा दाङको क्षेत्र नम्बर ३ बाट पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पोखरेल मुख्यमन्त्री बन्न प्रदेश झरे। २०७४ मंसिरमा दाङ क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बने।
मुख्यमन्त्री हुँदा संघीयताको कार्यान्वयन गर्ने सवालमा उनले लिएका निर्णयको प्रशंसा हुने गरेको छ। अन्तरमुखी स्वभावका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।
लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर काम गरेका उनले संकटका बेलामा अध्यक्ष ओलीलाई साथ दिँदै आएका छन्। उनले ओलीले लिएका निर्णयको प्रतिरक्षा गर्ने र त्यसलाई सैद्धान्तिकृत गरेर आम सर्वसारधणामा प्रचार गर्ने गर्छन्। त्यही कारण पनि हुनसक्छ महासचिवका लागि उनी ओलीको रोजाइमा दोस्रो पटक पनि परेका छन्।
Shares

प्रतिक्रिया