नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले विजयी नयाँ नेतृत्वलाई बधाई दिँदै आफू हारे पनि पार्टीको अभियानमा आफ्नो संलग्नता अटुट रूपमा रहने बताएका छन्।
बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनलाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमालेको अध्यक्ष निर्वाचित भएका छन्।
त्यसपछि सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी पोखरेलले आफू विजयी हुन नसके पनि एमालेको अभियानमा आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाएका हुन्।
‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु’, पोखरेलले लेखेका छन्, ‘नेकपा (एमाले) को निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु।’
यस क्रममा उनले आफूलाई विश्वास गरी मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन पनि गरेका छन्।
एमालेका १९ पदाधिकारीमा पोखरेल पक्षबाट जम्मा २ जना उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए।
यस्तो छ पोखरेलको पूरा वक्तव्य :
विजयी कमरेडहरूलाई बधाई, सम्पूर्ण प्रतिनिधि/मतदाताहरूमा हार्दिक बधाई तथा धन्यवाद!
नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन (२०८२ मंसिर २७-पुस ३) सम्पन्न भएको छ।
महाधिवेशनमा निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाई तथा कार्यकालको सफलताको शुभकामना!
महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु।
प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
साथै महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू- जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न 'नियन्त्रण र सन्तुलन'को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु।
आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु। नेकपा (एमाले) को निर्वाचित नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस्, हार्दिक शुभकामना व्यक्त गर्दछु।
-ईश्वर पोखरेल
(२०८२/९/३)
अध्यक्ष पदमा हारे पनि केन्द्रीय सदस्यमा भने पोखरेलले ओलीभन्दा बढी मत ल्याएर विजयी भएका छन्।
Shares

प्रतिक्रिया