राजनीति


मैले भदौ २३ गतेका दिन गोली चलाउने कुनै आदेश दिएको छैन : केपी शर्मा ओली

मैले भदौ २३ गतेका दिन गोली चलाउने कुनै आदेश दिएको छैन : केपी शर्मा ओली

नेपालखबर
माघ १४, २०८२ बुधबार १८:४६, काठमाडौँ

निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ गते जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश नदिएको बताएका छन्। 

बुधबार सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै ओलीले भनेका छन्, ‘भदौ २३ गतेको दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन। म र एमालेका विरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गर्दछु।’

प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएका व्यक्तिबीच सार्वजनिक बहस हुनुपर्ने माग उठेको छ। त्यसलाई लिएर ओलीले आफू बहसका लागि तयार रहेको सामाजिक सञ्जालमा लेखेका थिए। 

त्यसमाथि कमेन्ट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भदौ २३ गते बालिबालिकामाथि गोली हान्न आदेश दिनेहरूसँग मञ्च ‘शेयर’ नगर्ने बताएका थिए। त्यसलाई लिएर चर्चा परिचर्चा भइरहेको वेला ओलीले प्रष्टीकरण दिएका हुन्। 

‘केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ, मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ,’ ओलीले भनेका छन्, ‘हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ।’

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दिएको प्रस्टीकरण:

प्रिय भाइबहिनीहरू!

केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ, मानौँ प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ।

त्यस दिनको दुःखद् घटनापछि मैले तत्काल पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको थिएँ। ज्यान गुमाउन बाध्य भएका १९ जना नानी-बाबुहरूप्रति मेरो गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ।

सरकारले त्यतिवेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको थियो। तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो। म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ। त्यसैले माइतीघरमा बिहान सुरु भएको जेनजी प्रदर्शन शान्तिपूर्वक चल्यो, न गोली चल्यो, न लाठी प्रहार भयो।

तर करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्‍याउन खोजे। किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ।

संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले ‘आन्दोलन’ होइन, ‘राज्यविरुद्धको हमला’ मान्छ। संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ।

यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद् भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ। 

फेरि भदौ २४ गतेको विध्वंशलाई हेर्छु, मेरो राजीनामापछि नै सिंहदरवार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाईएको हो।

भाइबहिनीहरूलाई थाहा छ- संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ। उनीहरूले सरकारको आदेश होइन, कानुनको सपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन।

म फेरि पनि स्पष्ट पार्न चाहन्छु- तपाईंहरूको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो? थिएन। बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो? थिएन।

बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्‍याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ। 

म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई विनम्र आग्रह गर्छु। १९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु।

अन्त्यमा, एउटा आग्रह ग़र्न चाहन्छु, माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद् भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो?

यो प्रश्नको पनि जवाफ खोज्नुहोला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad