राजनीति


सर्लाही ३ मा घरदैलोमा व्यस्त नारायणकाजी (तस्बिरहरू)

सर्लाही ३ मा घरदैलोमा व्यस्त नारायणकाजी (तस्बिरहरू)

नेपालखबर
माघ २७, २०८२ मंगलबार १४:५१, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ अहिले घरदैलो अभियानमा व्यस्त छन्। 

आफू यतिबेला सर्लाही ३ को दक्षिणी क्षेत्रमा घरदैलो अभियानमा व्यस्त रहेको श्रेष्ठले बताए। ‘म अहिले सर्लाही ३ को दक्षिणतिरका गाउँबस्तीमा छु। चुनावको माहोल राम्रो बन्दै गएको छ,’ श्रेष्ठले भने। 

श्रेष्ठ बिहानदेखि साँझसम्म मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त हुने गरेको उनीसँगै रहेका विद्यार्थी नेता उपदेश यादवले बताए।  

पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठलाई सर्लाही ३ मा रास्वपाका नरेन्द्र साह, एमालेका निर्वतमान सांसद हरि उप्रेती, कांग्रेसका विनोद खनाल, जसपाका जयप्रकाश राय, जनमतका सुनिलप्रसाद गुप्ता लगायतका उम्मेदवारले चुनौति दिँदैछन्। 

नेकपाका नेता कार्यकर्ता भने सर्लाही ३ मा अन्तिममा श्रेष्ठको प्रतिस्पर्धा रास्वपाका साहसँग हुने दाबी गर्छन्। २०७९ को निर्वाचनमा सर्लाही ३ मा माओवादीबाटै उम्मेदवार बनेका साह अहिले रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। 

१ लाख ३४ हजार ४ सय १६ मतदाता रहेको सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमाले नेता उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी हुँदा साहले ३२ हजार १६८ मत ल्याएका थिए।

सर्लाही ३ मा हरिवन र बागमती नगरपालिका तथा चक्रघट्ट गाउँपालिकाको पूरै क्षेत्र पर्छ। त्यसैगरि हरिपुर, बरहथवा र कविलासी नगरपालिका तथा बसबरिया गाउँपालिकाका केही वडा पनि यो क्षेत्रमा पर्छन्।

बरथहवाको ५ देखि १२ र १६ देखि १८ गरी ११ वटा वडा यही क्षेत्रमा पर्छन्। कविलासी नगरपालिकाको ३ देखि ६, बसबरियाका ४ देखि ६ नम्बर वडा पनि सर्लाही ३ मा पर्छन्। 

सर्लाही ३ का ५१ मध्ये विगतको निर्वाचनमा कांग्रेस र माओवादीले १५–१५, एमाले र जसपाले ९–९, एकीकृत समाजवादीले २ र बहुजन पार्टीले एउटा वडा जितेका थिए। त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीको पनि पनि केही वडा जितेको थियो। 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सर्लाही ३ मा माओवादीले सबैभन्दा धेरै १५ हजार ४ सय ७१ मत प्राप्त गरेको थियो। 

त्यसपछि क्रमशः एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad