एकातिर आफ्नो ‘गढ’ मानिने क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, अर्कोतिर रास्वपाका तर्फबाट युवा र परिवर्तनको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका बालेन शाह। झापा क्षेत्र नम्बर ५ मा यतिबेला देशैभरिको ध्यान केन्द्रित छ।
यसै सन्दर्भमा हामीले बालेनका चुनावी प्रचारप्रसार संयोजक विरोध सुवेदीसँग नेपालखबर तत्कालैका लागि कुराकानी गरेका छौँ। सुवेदी झापा ५ मा बालेनको चुनावी प्रचारप्रसार निकै आक्रामक र व्यवस्थित ढंगले अघि बढिरहेको बताउँछन्।
उनले भने, ‘हामीले देशको प्रधानमन्त्री बनाउनका लागि बालेन शाहलाई यहाँबाट जिताएरै पठाउनुपर्ने स्थिति छ। उहाँलाई जिताउनेगरी हामी प्रचारप्रसारका काम तीव्र रूपमा अगाडि बढाइरहेका छौँ।’
यो क्षेत्रलाई एमाले अध्यक्ष ओलीको ‘किल्ला’ भनिए पनि सुवेदी यसलाई स्वीकार्दैनन्।
भन्छन्, ‘यो किल्ला भन्ने कुराले अहिलेको परिस्थितिमा, अहिलेको आधुनिक युगमा खासै अर्थ राख्छ जस्तो मलाई लाग्दैन। अहिले सम्पूर्ण मतदाताहरू सचेत छन्। उम्मेदवार हेरेपछि, उहाँका हिजोका क्रियाकलाप हेरेपछि उहाँहरूले सकारात्मक सन्देश दिनुभएको छ।’

हामीले सोध्यौँ- बालेनले जित्ने आधार के हुन् त?
जवाफमा उनले ५ आधार प्रस्तुत गरे :
१. युवाहरूको समर्थन : बालेनलाई युवा जमातको समर्थन छ।
२. पुस्तान्तरणको आवश्यकता : देशमा अब युवा पुस्ताले नेतृत्व सम्हाल्नुपर्छ, पुरानो पुस्ताको कार्यशैली अहिलेको नयाँ आईटी र रोबोटिक युगसँग मेल खान सकेन।
३. कार्यशैली : थोरै बोल्ने, इनपुट के हो त्यो लिने र जनतालाई के आउटपुट दिन सकिन्छ त्यो दिने। बालेनमा जनताले यो देखिरहेका छन्।
४. सचेत मतदाता : सचेत मतदाताले अहिलेको राजनीति के हो र जनताको आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भन्ने कुरा बुझ्ने उम्मेदवार बालेन हो भन्ने बुझेका छन्।
५. परिवर्तनको चाहना : हिजोको परम्परागत भाषण गर्ने र मान्छे अल्मल्याउने राजनीति होइन, राष्ट्र निर्माणको योजना बोकेको मान्छे चाहिएको छ भन्ने जनताले बुझेका छन् र त्यो बालेनमा देखेका छन्।
भूगोल बुझेका ओलीलाई जिताउन छाडेर ‘पयर्टक उम्मेदवार’ भनेर चिनिएका बालेनलाई यहाँका मतदाताले जिताउलान् त? सुवेदी बालेनलाई ‘पर्यटक उम्मेदवार’ भन्न नमिल्ने बताउँछन्।
भन्छन्, ‘बालेन काठमाडौँ २ का मतदाता हुन्, केपी ओली भक्तपुर २ का। दुवैजना बाहिरकै हुन्। तर भूगोलको कुरा बालेनले किन नबुझ्नु? देशैभरिको भूगोल, विभिन्न संस्कृति र जातजाति उहाँले बुझ्नुभएको छ।’
काठमाडौँमा डोजर चलाएको प्रसङ्गलाई लिएर झापाका सुकुम्बासीहरूमा त्रास फैलाउन खोजिएको भन्दै सुवेदीले स्पष्ट पारे, ‘एउटा भ्रम फैलाउन खोजिएको छ। बालेन आफैँले पनि यहाँ आएर बोलिदिनुभएको छ। ऐन कानुनमा टेकेर तपाईंहरूले पाउनुपर्ने धनीपुर्जा र अधिकारबाट तपाईंहरू वञ्चित हुनुहुन्न भन्नुभएको छ। यो समस्याबाट मुक्त गराउन हामी पहल गर्छौँ।’

हिजोका दिनमा हेलिकप्टर चढेर चुनावी सभा गर्ने केपी ओली अहिले घरदैलोमा पुग्नुलाई सुवेदी रास्वपाको सफलता मान्छन्।
‘कहीँ बसेर फोनको भरमा कसैलाई ठेकेदार बनाएर मत ल्याउने कुरा अब चल्दैन। हामीले उहाँलाई सिकाउन सफल भयौँ, यो हाम्रो सफलता हो,’ उनले भने।
विपक्षी दलहरूबीच भित्री तालमेल भइरहेको चर्चा पनि छ।
यसबारे सुवेदीको टिप्पणी छ, ‘दलले फिक्सिङ गरेको कुरा मतदाताले मान्छन् जस्तो मलाई लाग्दैन। दलका सदस्यले हाल्लान् तर त्यो जित्नका लागि पर्याप्त हुँदैन। हामीलाई आम मतदाताको मत निर्णायक हुन्छ।’
रास्वपाले झापाका पाँचै वटा सिट जित्ने लक्ष्य राखेको सुवेदी बताउँछन्।
‘झापा एकदम राम्रो छ, पाँचै वटा सिट जित्ने गरी तयारी गर्दैछौँ। केही पहाडी जिल्लामा संगठन विस्तारको चुनौती भए पनि चुनावसम्म हामी सबैतिर जित्ने गरी तयारीमा रहन्छौँ,’ उनले भने।
चुनावी प्रचारको शैली कस्तो छ भन्नेबारे उनले सुनाए, ‘धेरै तामझाम र रोड सोभन्दा पनि दुई–चार जनाको टिम बनाउँछौँ, घरमा जान्छौँ, गफ गर्छौँ। एकदम सामान्य रूपले मतदाताले रुचाउने हिसाबमा अगाडि बढिरहेका छौँ।’
थप के के भने त उनले? हेर्नुस् विरोध सुवेदीसँग झापाको दमकमा गरिएको भिडिओ कुराकानी नेपालखबर तत्कालै :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया