राजनीति


मोरङमा सुनिल शर्मासँग ‘तत्कालै’: यहाँ घण्टीको क्रेज छैन, झापा ५ मा बालेन जित्दै छैनन् (भिडिओ)

‘कसैको मिर्गौला फेरिदिएको छु, कसैको छोराछोरी पढाएको छु, एमालेका आधा कार्यकर्ताले मलाई भोट हाल्छन्’
मोरङमा सुनिल शर्मासँग ‘तत्कालै’: यहाँ घण्टीको क्रेज छैन, झापा ५ मा बालेन जित्दै छैनन् (भिडिओ)

अनिल यादव
फागुन १३, २०८२ बुधबार २०:४०, बेलबारी, मोरङ

चुनावको सरगर्मी बढ्दै जाँदा मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा सुनिल शर्मा निकै व्यस्त र आत्मविश्वासले भरिएका देखिन्छन्। घरदैलो अभियान र मतदातासँगको साक्षात्कारमा रहेका शर्मा मोरङ ३ को चुनावी माहोल मुलुकका अन्य क्षेत्रभन्दा फरक रहेको बताउँछन्।

नेपालखबरको टोली मंगलबार बिहान बेलबारीस्थित उनको घर पुग्दा शर्मा घरदैलोमा हिँड्ने तर्खरमा थिए।

‘हामीले यहाँ व्यक्तिगत तहमा धेरै काम गरेका छौँ। विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा हामीले पुर्‍याएको योगदान अतुलनीय छ,’ नेपालखबर तत्कालैसँग गफिँदै उनले भने, ‘म जुनसुकै टोलमा जाँदा पनि कि त मैले जीवनदान दिएर मृत्युको मुखबाट बचाएको बिरामी भेटिन्छन्, कि हामीले निःशुल्क पढाएका बच्चाहरू भेटिन्छन्।’

उनले पूर्वाञ्चल विश्वविद्यालयमा २५ वर्षदेखि रोकिएको एमबीबीएस कक्षा आफ्नो पहलमा सुरु हुन लागेको बताए। त्यस्तै सुकुम्बासी समस्या समाधानका लागि नापी गराई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढाउनु आफ्नो मुख्य उपलब्धि भएको उनको भनाइ छ।

आफ्नो जितबारे उनी ढुक्क छन्।

‘जित्ने कुरामा त यहाँ कुनै शङ्का नै छैन, तर मेरो कोसिस यसपालि पहिलेको भन्दा अझ बढी मतान्तरले जित्ने हो। मतान्तर धेरै हुँदा संसद्‍मा बोल्दा देशैभरि त्यसको छुट्टै भ्यालु हुन्छ,’ शर्माले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ र आन्दोलनका सन्दर्भमा शर्माले लोकतान्त्रिक मान्यताको कुरा गरे।

उनले भने, ‘लोकतन्त्रमा विपक्षी दलको नेता, चाहे ऊ जोसुकै होस्, अनुसन्धानका नाममा चुनावको बेला जेलमा राखिनु हुँदैन। जसरी भारतमा केजरीवाललाई चुनावसम्म मुभमेन्ट गर्न दिइयो, त्यसरी नै रविजीलाई पनि जनतामा जान दिनुपर्छ भन्ने मेरो अडान हिजो पनि थियो, आज पनि छ।’

तर, आफ्नो निर्वाचन क्षेत्रमा रास्वपा तेस्रो वा चौथो स्थानमा मात्र रहेको र उनीहरूसँग प्रतिस्पर्धामै नरहेको उनको दाबी छ।

यो निर्वाचनको केन्द्रबिन्दु रहेको छिमेकी क्षेत्र झापा ५ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे टिप्पणी गर्दै शर्माले भने, ‘झापा ५ मा केपी ओलीले जित्ने सम्भावना ९९ प्रतिशत छ। वर्षौँदेखिको सम्बन्ध, नाता र विकासका कामलाई एउटा मान्छेले बाटोमा बसेर टिङटिङ बजाएको भरमा जनताले भुल्दैनन्। झापा ५ का मान्छेहरू निकै सचेत छन्, त्यहाँ पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै बीचमा हुन्छ।’

काठमाडौँका पूर्वमेयर बालेन शाहको लहरबारे सोधिएको प्रश्नमा शर्माले आफ्नो क्षेत्रमा त्यसको कुनै प्रभाव नरहेको बताए।

उनले भने, ‘बालेनजी मेरो क्षेत्रको पथरीमा आउनुभएको थियो, भिडिओ हेर्नुस् २५–२६ जना भन्दा बढी मान्छे थिएनन्। मिडियाले देखाउने लहर र ग्राउन्डको रियालिटी फरक हुन्छ। राजनीति ड्याङड्याङ पारेर वा घण्टी बजाएर मात्र हुँदैन, २० औँ वर्ष मान्छेको सुखदुःखमा भिजेको हुनुपर्छ।’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाको उपचारको जिम्मा आफूले लिने पनि उनले बताए। तथापि, साम्बाले चन्दा उठाएर कतारमा उपचारको व्यवस्था गरिसकेकी छन्।

उनले भने, ‘साम्बा देशको स्टार हुन्। यदि उनलाई उपचारमा समस्या छ भने हाम्रो संस्था (काठमाडौँ मेडिकल कलेज/नोबेल मेडिकल कलेज) ले उनलाई अस्ट्रेलियाबाट बिजनेस क्लासको टिकट दिएर नेपाल ल्याउने र काठमाडौँमा निःशुल्क अप्रेसन गर्ने जिम्मा लिन्छ। हड्डीको उपचारका लागि हामीसँग संसारकै टप डाक्टरहरू छन्।’

शर्माले आफूलाई एमाले र माओवादीका कार्यकर्ताले पनि भोट हाल्ने विश्वास व्यक्त गरे।

‘यहाँ ५० प्रतिशतभन्दा बढी एमालेका कार्यकर्ताले मलाई भोट हाल्छन्। किनभने मैले कसैको मिर्गौला फेरिदिएको छु, कसैको छोराछोरी पढाएको छु। यहाँ राजनीतिभन्दा माथि उठेर एउटा पारिवारिक सम्बन्ध बनेको छ,’ उनले दाबी गरे।

शर्माले यतिखेर आफ्नो ‘समाजसेवी’ छविलाई चुनावी अस्त्रको रूपमा प्रयोग गरिरहेको देखिन्छ। उनी नयाँ राजनीतिक शक्तिहरूलाई गम्भीर चुनौती मान्दैनन् र परम्परागत पार्टीहरूकै वर्चस्व रहनेमा विश्वस्त देखिन्छन्।

उनले थप के–के भने, हेर्नुहोस् भिडिओ :

फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad