उनीहरू केबल साथी थिएनन्। एउटै पार्टीका सदस्य, एकै बाटो हिँड्ने सहयात्री मात्र पनि थिएनन्। उनीहरू त सपना, जपना र लक्ष्य पनि एउटै भएका कमरेड थिए।
उनीहरूले राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ भनेर हजारौँ युवालाई हतियार बोकाएर युद्धमा हिँडाए। एउटै बङ्करमा बसेर राज्यविरुद्ध युद्धको योजना बुने। लडाइँ लडे। सँगै जिते, सँगै हारे। हाँसे रोए।
तर, त्यो लडाइँ चलुञ्जेल मात्र थियो। संसदीय राजनीतिमा आएपछि त उनीहरूको बाटो मात्र बेग्लिएन, अहिले एकअर्कालाई हराउन उनीहरू भएभरको बल लगाइरहेका छन्।
यो कथा हो कर्णालीका दुई जिल्ला रुकुम पश्चिम र कालीकोटको। जहाँ कुनै समय सँगै मर्नेबाँच्ने कसम खाएर हिँडेका पूर्वमाओवादी नेताहरू चुनावी मैदानमा आमनेसामने भएका छन्।
माओवादी आन्दोलनको आधारइलाका मानिन्छ रुकुम पश्चिम। जनयुद्धका डेपुटी कमान्डर जनार्दन शर्मा र उनकै पूर्वसहकर्मी गोपाल शर्माबीच आपसमा भिडिरहेकाले रुकुम पश्चिमको यसपटक कडा प्रतिस्पर्धा हुने देखिन्छ।
विगतमा माओवादी केन्द्रको शक्तिशाली खम्बा रहेका जनार्दन यसपटक नयाँ पार्टीबाट चुनावमा होमिएका छन्। वर्षाैँसम्म पुष्पकमल दाहाल प्रचण्डको खास मान्छे भएर माओवादी केन्द्र हाँकेका, उपमहासचिवको जिम्मेवारीमा रहेका उनी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीमा छन्।
प्रचण्डसँगको टकरावकै कारण प्रलोपाबाट उनले रुकुम पश्चिममा उम्मेदवारी दिएका हुन्। २०६४ देखि लगातार अपराजित रहेका जनार्दनका लागि यसपटकको चुनाव अग्निपरीक्षा जस्तै छ।
रोचक त, विगतमा प्रतिद्वन्द्वी रहेको एमाले आज उनको मुख्य सहयोगी बनेको छ। एमालेले आफ्ना उम्मेदवारलाई निष्क्रिय पारेर जनार्दनलाई समर्थन गरेको छ।
उनले जिल्लामा गरेको विकास निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्। अर्काेतर्फ, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा संस्थागत माओवादीको विरासत जोगाउन कस्सिएका छन्।
उनको दाबी छ– रुकुमको संगठन व्यक्तिले होइन, विचार र पार्टीले बनाएको हो। जनार्दनले पार्टी छोडेर धोका दिएको उनको आरोप छ।
‘रुकुमेली जनताले कहिल्यै धोका दिएका छैनन् र यसपटक पनि दिने छैनन्,’ उनले नेपालखबरसँग भने।
यस्तै, दृश्य कालीकोटमा पनि देखिएको छ।
नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेकपा माओवादीबाट खड्गबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन्। शाही अघिल्लो पटक पनि सोही जिल्लाबाट निर्वाचित भएका थिए।
२०६४ को निर्वाचनमा अत्याधिक मतले जितेका खड्गबहादुर विश्वकर्मा लामो समय चुनाव बहिष्कारपछि फेरि त्यही व्यवस्थाको हिस्सा बन्न आइपुगेका हुन्।
शाहीले आफ्नो कार्यकालमा भएका विकासका कामलाई आधार मानेर मत दिन मतदातालाई भनिरहेका छन्। विश्वकर्माको पुनरागमनलाई उनले अराजनीतिक अवसरवादको संज्ञा दिएका छन्।
विश्वकर्माले शाहीलाई सत्ताको लोभी भएको आरोप लगाएका छन्। यी दुवै कमरेडको टक्करले त्यहाँको चुनाव रोचक मात्र बनाएको छैन, एउटै धारका मतदातालाई विभाजन पनि गराएको छ।
यहाँ एमाले र साना वामपन्थी दलहरूको मत कता जान्छ भन्ने कुराले जित–हार तय गर्ने भए पनि लडाइँ भने दुई पूर्वमाओवादी कमरेडकै बीचमा छ।
कालीकोटमा दलित र जनजाति साथै एमालेको मत कसको पक्षमा जान्छ भन्ने कुराले जित–हार तय गर्ने देखिन्छ। विश्वकर्माले एमालेको मत पाउने आश गरे पनि शाहीको पकड जिल्लामा बलियो मानिन्छ।
आफ्नो बलियो संगठन र सत्तामा रहँदा बनाएको प्रभावलाई शाहीले जित्ने आधारका रूपमा लिएका छन्।
तर, लामो समयपछि चुनाव लडेकाले विश्वकर्मा जनताले साथ दिनेमा आशावादी देखिन्छन्। नयाँको लहर चलिरहेको बेला आफू पनि नयाँ भएको उनले बताए।
रुकुम र कालीकोटको यो चुनावी प्रतिस्पर्धाले विजयी उम्मेदवारको घोषणा मात्र गर्ने छैन, कर्णालीको लालकिल्ला कसको नियन्त्रणमा रहन्छ भन्ने ऐतिहासिक फैसला पनि गर्ने देखिन्छ।
जे होस्, विगतमा मुक्ति वा मृत्युुको कसम खाएर लडेका यी कमरेडहरूबीचको भिडन्तले पनि पुष्टि गर्छ– राजनीतिमा न कोही स्थायी शत्रु हुन्छ, न त मित्र।
Shares

प्रतिक्रिया