निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेका आठ जनालाई कारबाही गरेको छ।
प्रतिनिधि सभाको निर्वाचनका आचारसंहिता उल्लघंन गर्ने ९४ जनालाई स्पष्टीकरण सोधेको छ। त्यसमध्ये ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको आयोगले जनाएको छ।
उनीहरूको जवाफबाट सन्तुष्ट नभएपछि आयोगले ६ जनालाई पुनः स्पष्टीकरण सोधेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए। आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ।
दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको जोशीले जानकारी दिए।
देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ। सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन्।
Shares

प्रतिक्रिया