राजनीति


मातृका यादवलाई निर्वाचित प्रमाणपत्र नदिएको भन्दै नेकपाले जनायो आपत्ति

मातृका यादवलाई निर्वाचित प्रमाणपत्र नदिएको भन्दै नेकपाले जनायो आपत्ति

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०८२ सोमबार ११:४, काठमाडौँ

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्ना उम्मेदवार मातृका यादव प्रतिनिधि सभा सदस्यमा विजयी भइसक्दा पनि निर्वाचन आयोगले यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति प्रकट गरेको छ। 

नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार बिहान वक्तव्य जारी गर्दै यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्।  

‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा मत गणनामा विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो।’

नेकपाले कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नहुनेमा जोड दिएको छ। 

‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयले पनि  कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ।’

अन्तिम मत परिणामअनुसार धनुषा १ मा मातृका यादवले १० हजार ४३० मत पाएका छन्। नेपाली कांग्रेसका रामपलटन साहको ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलको ९ हजार २२० मत आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad