सांसद रामप्रसाद यादवले संसदको शून्य समयमा बोल्दै मधेस प्रदेशमा कार्यरत स्थायी कर्मचारीहरूको अन्तर प्रदेश पदस्थापन प्रक्रिया रोकिँदा उनीहरूको वृत्ति विकासमा गम्भीर असर परेको बताएका छन्। सांसद यादवले कर्मचारी प्रशासनमा देखिएको यो अन्योलले सेवा प्रवाह र कर्मचारीको मनोबलमा समेत धक्का पुगेको उल्लेख गरे।
मधेस प्रदेशमा समायोजन भएका र त्यहाँ कार्यरत कर्मचारीहरू लामो समयदेखि अन्य प्रदेश वा संघमा सरुवा हुन नपाउँदा एउटै स्थानमा थुनिएर बस्नुपर्ने बाध्यता रहेको उनले सदनलाई जानकारी गराएका हुन्। संसदमा उनले भने, 'मधेस प्रदेशमा स्थायी कर्मचारीको अन्तर प्रदेश पदस्थापन अझै हुन नसकेका कारण कर्मचारीको वृत्ति विकास प्रभावित भएको छ। '
उनले कर्मचारीको सरुवा र पदस्थापनलाई व्यवस्थित नगरेसम्म प्रदेश सरकारको कार्यसम्पादन समेत प्रभावकारी हुन नसक्ने दाबी गरे।
सांसद यादवले कर्मचारीको विषयबाहेक विकास निर्माण र विद्यार्थीका समस्यामा पनि सरकारको ध्यानाकर्षण गराए। उनले कञ्चनपुर–कमला सडक निर्माण आयोजनाको सुस्त गति र पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको 'ब्याक पेपर' परीक्षामा भइरहेको ढिलाइप्रति आपत्ति जनाए।
विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गर्दै उनले थपे, 'पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत अध्ययनरत विद्यार्थीको ब्याक पेपरको परीक्षा समयमा नहुँदा कयौँ विद्यार्थीको भविष्यप्रति खेलवाड भइरहेको छ। विद्यार्थीको समय र भविष्य जोगाउन मौका परीक्षा तत्काल होस् भन्ने कुरा सरकारलाई आग्रह गर्दछु।'
Shares

प्रतिक्रिया