नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकै ठाउँ उभिएको नेताहरूले बताएका छन्।
पोखरेल ओलीका निकट विश्वासपात्र हुन्। ११ औँ महाधिवेशनमा ओलीले नै पोखरेललाई दोस्रो पटक महासचिव बनाएका थिए।
यस्तै, उपाध्यक्ष पौडेल पनि अप्ठेरो अवस्थामा ओलीलाई साथ दिँदै आएका नेता हुन्। गत मंसिरमा भएको महाधिवेशनमा ओलीकै प्यानलबाट उठेर पौडेल उपाध्यक्ष निर्वाचित भएका थिए।
तर, ओलीले गरेका एकपछि अर्को निर्णयले पार्टी संकटमा पर्दै गएको निष्कर्ष निकालेर पौडेल र पोखरेल मिलेको निकटस्थहरूले जानकारी दिए।
‘विष्णु पौडेल र शंकर पोखरेल अब ओलीलाई अध्यक्षमा राख्न सकिन्न भन्नेमा एकमत हुनुहुन्छ। त्यसैले उहाँलाई हटाउन मोर्चाबन्दी गरेरै लाग्नुभएको छ,’ एमालेका एक नेताले भने।
यसबारेमा एमालेको सचिवालय र केन्द्रीय तहका धेरै नेता जानकार रहेको उनले दाबी गरे।
‘पछि तपाईं–हामी प्रतिस्पर्धा गर्नैपरे गरौँला तर, केपी कमरेडबाट अबको एमाले चल्दैन भन्ने कुरामा उहाँहरू साझा दृष्टिकोण बनाएर बस्नुभएको छ,’ ती नेताले थपे।
जेनजी आन्दोलनपछि भएको चुनावमा एमालेको शर्मनाक पराजय भएको थियो। जसकारण एमालेमा ओलीको नीति अस्वीकृत भएको भन्दै राजीनामा दिन नेताहरूले दबाब दिएका थिए। तर, ओली तयार भएनन्।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादललाई दिएको छ। संसदीय दलको नेता पनि बादललाई नै बनाएपछि एमालेभित्र नेताहरू थप असन्तुष्ट बनेका हुन्।
‘नेतृत्व फेरेर जानुपर्छ। केपी ओलीबाट एमाले हाँक्न अब सम्भव छैन भनेर विष्णु पौडेल, गोकर्ण विष्ट, रघुजी पन्त, शंकर पोखरेल, योगेश भट्टराई लागिरहनुभएको छ,’ ती नेताले भने।
त्यसमध्येमा पनि पौडेल र पोखरेलले मोर्चाबन्दी गरेको उनको भनाइ छ।
‘विष्णु र शंकर भित्री रुपमा मिल्नुभएको छ,’ उनले भने, ‘अहिले धेरै हल्लाखल्ला नगर्नुको कारण यही हो।’
एमालेका केन्द्रीय सदस्य समीक बडालले पौडेल र पोखरेल मिल्दा पार्टी एकताबद्ध हुने बताए।
‘आजसम्म दुईजना नेता नमिल्दा समस्या भयो,’ उनले भने, ‘कुनै समय एमाले संकटमा पर्दा विष्णु पौडेल र शंकर पोखरेलको एकताले जोगाएको हो। उहाँहरू एक ठाउँमा उभिने कुराले पार्टी फेरि एकढिक्का बन्छ। अहिले उठिरहेको प्रश्न सामना गरेर पार्टीले गति लिनसक्छ भन्ने समझदारी हो। पार्टीलाई एक कदम अगाडि बढाउन यो आवश्यक छ।’
यही विषय लिएर एमालेका पदाधिकारीहरू पूर्वराष्ट्रपति विद्या भण्डारीकहाँ छलफल गर्न पुगेका थिए।
एमालेमा नेतृत्व फेर्नको लागि विशेष महाधिवेशनको माग गर्दै केही युवाले हस्ताक्षर अभियान चलाएका छन्। युवा नेता कमल जोशीका अनुसार हस्ताक्षर संकलन जारी छ। २२ सय महाधिवेशन प्रतिनिधिमध्ये ६ सय हाराहारीले हस्ताक्षर गरिसकेका छन्।
यसबारेमा पार्टी कार्यालय च्यासलमा पुगेर उनीहरूले कार्यवाहक अध्यक्ष बादल, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलसँग छलफल गरेका थिए। जोशीका अनुसार सो भेटमा पौडेलको जवाफ थियो, ‘तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुला रुपमा भन्छौँ।’
‘के कारणले हामी चुनावमा हार्यौँ भन्ने समीक्षा गर्ने मात्र होइन, उस्तै परे नेतृत्व फेरेर जान हामी लाग्छौँ,’ उनले पौडेल र पोखरेलको भनाइ उधृत गरे, ‘तर, अहिले यो विषयमा हाम्रो छलफल प्रवेश गरेको छैन। हामीले तल्ला कमिटीमा छलफल गर्न डकुमेन्ट पठाएका छौँ।’
एमालेले कुनै बैठक नडाकेपछि युवाहरू अहिले दस्तावेज लेखिरहेका छन्।
‘पार्टीलाई कसरी सञ्चालन गर्ने, पार्टीमा गलत केके भए? हामीले नियम, पद्धति मिचेर सुशासन कायम गर्न नसक्दा त्यसको असर चुनावमा देखा परेको कुरा समेटेर डकुमेन्ट लेखिराखेका छौँ,’ उनले भने, ‘विशेष महाधिवेशनको हलबाट यो सम्भव हुन्छ। यो केन्द्रीय कमिटी नै फेर्नुपर्छ। सबैजना असफल हो।’
तर, पार्टी कार्यालयका सचिव डा भिष्म अधिकारी ओलीलाई हटाउने कुरा नै बेतुकको भएको बताउँछन्।
‘महाधिवेशनले भरखर छानेको अध्यक्ष त्यसै बजारमा हल्ला गरेर हट्ने कुरा हुन्छ र? विधि प्रक्रिया होला। एमालेको विधानमा विशेष महाधिवेशनको व्यवस्थै मैले देख्दिनँ। भरखर महाधिवेशन सकिएको कति महिना भयो र?’ उनले भने, ‘अहिले एमालेको बैठक बोलाइएको छैन। अध्यक्षलाई नै त्यत्रो दिन नाजायज तरिकाले हिरासतमा राखियो। अहिले उहाँ फेरि उपचारकै क्रममा हुनुहुन्छ। अरु आन्तरिक कुराहरू होला पार्टीले तयार गर्ने। त्यसपछि बल्ल कुरा आउला।’
तर, केन्द्रीय सदस्य समीक बडाल आगामी चुनावसम्म ओलीकै नेतृत्व लिएर जान नसकिने बताउँछन्।
‘यही नेतृत्व, यही अनुहार लिएर अब हुने स्थानीय र प्रदेश सभा चुनावमा जाँदा फेरि पराजयतिर जाने हो,’ बडालले भने, ‘यही संरचना र पुरानै नेतृत्व लिएर जान अब गाह्रो हुन्छ। सानोतिनो झारो टारेर पार्टी बन्दैन। निर्मम समीक्षा सबैले गर्नुपर्छ। किनकि, हाम्रा नीति, कार्यक्रम फेल भएका हुन्। हाम्रो नीति, कार्यक्रम जनताले रुचाएका छैनन्। यसलाई पुनर्विचार गर्नुपर्छ। हाम्राबीचमा अविश्वास पैदा गर्ने, टुटफुट ल्याउने होइन, समग्रमा पार्टीले पुनर्विचार गर्नुपर्छ।’
ओलीले बादल च्यापेपछि थप रुष्ट
खासगरी ओलीले बादलप्रति अभूतपूर्व पक्षधरता लिएकोमा नेताहरू असन्तुष्ट छन्।
संसदीय दलको नेता चयन, र कार्यवाहक अध्यक्ष बनाउँदा ओलीले बादललाई बढी नै पक्षपोषण गरेको उनीहरूको बुझाइ छ।
उनको आड पाएर बादलले पार्टीकै नेताहरूलाई छेडखानी गरेको, पार्टीभित्रका ‘दुश्मन’ भनेको असन्तुष्टहरूको आरोप छ।
चैत २५ गते एमालेको कास्की जिल्ला कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले संसदीय दलको नेताको हैसियतमा संसदमा आफूले गरेको सम्बोधनले ‘पार्टीभित्र र बाहिरका दुश्मनहरू एक्स्पोज भएको’ बताएका थिए। उनले नाम नलिई उपाध्यक्ष विष्णु पौडेलप्रति कटाक्ष गरेका हुन्।
चैत १९ गते प्रतिनिधि सभाको बैठकमा बादलले गरेको सम्बोधनप्रति असहमति जनाउँदै उपाध्यक्ष पौडेलले यो भनाइ बादलको निजी धारणा मात्र भएको र त्यो पार्टीको नीति विपरीत रहेको बताएका थिए।
Shares

प्रतिक्रिया