प्रतिनिधिसभामा चैत २७ गते उपसभामुखको चुनाव चल्दै थियो। त्यो दिन उपसभामुख बन्दै गरेकी २५ वर्षीया रुवीकुमारी ठाकुर चर्चामा थिइन्। तर, त्यही संसद् बैठकको एउटा दृश्य सामाजिक सञ्जालमा अझ बढी भाइरल भयो।
त्यो दृश्य थियो– रास्वपाका सांसदद्वय पुरुषोत्तम यादव र श्रद्धा कुँवर क्षेत्रीको रोचक वार्तालाप। उनीहरूको हाँसो र कुराकानीलाई लिएर अनेक मिम र मजाक बने। अझ ती तस्बिरलाई पृष्ठभूमिमा ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने, हाम्ले आँखा जुधाउने, चित्त बुझाउने’ गीत राखेर रिल्स बने।
रिल्स हेर्ने धेरैले व्यंग्य गरे– यो संसद् भवन हो कि कलेजको प्रांगण?
सांसद यादवले भने त्यस्तो खास कुरा केही नभएको बताए। श्रद्धा कुवरसँग उपसभामुखको निर्वाचनलाई लिएर आफूले कुरा गरेको जानकारी दिए।
‘उपसभामुखलाई मतदान गर्दा पक्ष र विपक्ष दुवैमा मतदान गर्नुपर्ने रहेछ, अनि मैले एकैचोटि पक्षमा गरिदिए भइहाल्थ्यो होला नि, किन फेरि विपक्षमा गर्नु पर्ने होला मात्र भनेको थिएँ माननीय श्रद्धाज्यूसँग,’ यादवले नेपालखबरसँग भने।
त्यही सामान्य कुराकानीलाई काटेर रिल बनाएर हालिएको र उडाइएको उनको भनाइ छ।
जे भए पनि, अचेल संसद् भवनको दृश्य फेरिएको साँचो हो।
यसपालि संसदमा ठूलो संख्यामा तन्नेरी सांसदहरू प्रवेश गरेका छन्। यससँगै संसदको वातावरण फरक र रंगीन बन्न पुगेको छ। पहिले–पहिले दिक्कलाग्दा भाषण र एकअर्काको चर्को आलोचना हुने ठाउँमा सांसदहरूको हाउभाउ कटाक्षले आम मानिसको ध्यान तान्न थालेको छ। डिजिटल युगमा अभ्यस्त उनीहरूको लवाइखवाइ र बोलीवचन पनि पहिलेको भन्दा अलग छ।
यससँगै संसदीय गरिमा र युवा सांसदको डिजिटल शैलीबीच देखिएको बेमेलले नयाँ बहस जन्माएको छ।
वृद्ध नेताहरूको आलोपालो तोड्दै प्रधानमन्त्री बनेका बालेन्द्र शाहकै एउटा निर्णयले सबैभन्दा धेरै बहस र आशंका सिर्जना गर्यो। निर्वाचनपछिको पहिलो सत्रमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहिआएको थियो। तर, झण्डै दुई तिहाइ सिट जितेर आएको रास्वपाका युवा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नु आवश्यक ठानेनन्। उनले नबोलीकनै पहिलो सत्र समाप्त भयो।
संसदमा बोल्न नरुचाएका बालेन नेपाली सेनाको कार्यक्रममा गएर भने बोले। यससँगै धेरैले प्रश्न गरेका छन्– संसदमा बोल्न जरुरी नठानेका बालेन सेनाको कार्यक्रममा गएर किन बोले?
सदनभित्रको माहोललाई झन् चर्चामा ल्याउने काम झापा–२ बाट निर्वाचित सांसद निशा डाँगीको एक क्रियाकलापले गर्यो। बैठक चलिरहेकै बेलामा उनले ‘फ्लाइङ किस’ दिएको भन्दै हाल एक भिडिओ चर्चामा छ।
कतिपयले यसलाई भिडिओ देखिएको जस्तो नभएको भनेका छन् त धेरैले संसदजस्तो मर्यादित ठाउँमा यस्ता क्रियाकलाप अनुचित भएको टिप्पणी गरिरहेका छन्। केहीले यो भिडिओ एआई निर्मित भएको पनि भनिरहेका छन्।
विवादको लहरमा धादिङ–२ बाट निर्वाचित सांसद आशिका तामाङ पनि देखिइन्। नेपालको संविधानको पुस्तक हातमा लिएर हिन्दी गीतमा टिकटक बनाएपछि उनी आलोचनाको निसाना बनेकी हुन्। तामाङले उक्त भिडिओ एआईको उपज भएको भन्दै तर्किन खोजे पनि मानिसहरूले त्यसलाई पत्याएनन्।
सांसदहरू ठिटौलो शैलीका कारण आलोचित भइरहेका बेला शिक्षा, प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेल भने धेरैको ‘क्रस’ बनेका छन्। मन्त्री पोखरेलको आकर्षक व्यक्तित्वबाट धेरै युवायुवती प्रभावित भएका देखिन्छन्।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित सांसद महावीर पुनका क्रियाकलापलाई मनपराइएको छ। संसदको पहिलो दिन ‘आजबाट त म संसदको स्कुल जाने हो’ भन्दै खुसी हुँदै नाच्दै बनाएको भिडिओ धेरैले रुचाएका छन्।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुुस्बु ओली भने सांसद भएपछि ‘फेसन आइकन’ का रूपमा उदाएकी छन्। संसदभित्रका आफ्ना तस्बिरलाई हिन्दी चलचित्र ‘धुरन्धर’को भाइरल गीतसँगै पोस्ट गरेपछि धेरैले उनलाई संसदकी सुन्दरी भनेका छन् भने कतिपयले ‘संसदमा गएको हो कि फेसन शोमा’ भनेर सोधेका छन्।
फागुन २१ को निर्वाचनमा मतदाताले युवा र नयाँलाई जिताएका छन्। त्यसयताका घटनाहरूलाई हेर्दा यो संसदले कार्यकालभरि पर्याप्त मात्रामा रोचक गसिपहरूलाई जन्म दिने सम्भावना छ। सँगसँगै गम्भीर प्रश्न पनि छ– अभूतपूर्व रूपमा युवा सहभागी संसदले मनोरञ्जन मात्र दिन्छ कि आवश्यक नीति निर्माण गरेर जनअपेक्षा पनि पूरा गर्छ?
Shares

प्रतिक्रिया