प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। सभामुख अर्यालले नेपाल-चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।
त्यस्तै, सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए। सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे।
सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे। साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।
भेटमा राजदूत माओमिङले राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्रहस्तान्तरण गरेका थिए। उनले नेपाल-चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सन् २०१९ मा सी जिङपिङको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।
राजदूत माओमिङले चीनले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपाल नीति निरन्तर रहने विश्वास व्यक्त गरे।
भेटका क्रममा दुवै पक्षले नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्यलाई विस्तार गर्ने सहमति जनाएका थिए। साथै, शान्ति, स्थायित्व र साझा समृद्धिका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य बढाउनेमा जोड दिएका थिए।
Shares

प्रतिक्रिया