संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका हुन्। शक्तिपृथकीरकणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश सिफारिस भएकाले रिट दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताए। रिट दर्ता हुन बाँकी रहेको उनले जानकारी दिए।
त्यस्तै, अधिवक्ता विपिन ढकालले पनि सर्वोच्चमा रिट दिएका छन्। उनले पनि प्रधानन्यायाधीशमा शर्मालाई गरिएको सिफारिस विधि र प्रक्रिया विपरीत भएको जिकिर गरेका छन्। यो रिट पनि दर्ता हुन बाँकी छ।
रिटमा राष्ट्रपतिको कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह, संवैधानिक परिषद, संसदीय सुनुवाइ समिति र प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मालाई विपक्षी बनाइएको छ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले चौथो वरियताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका कुमार रेग्मी र तेस्रो वरियताका रिप्रसाद फुयाललाई छोडेर चौथो वरियताका शर्मा सिफारिस भएका थिए।
यस निर्णयमा संवैधानिक परिषद्को बैठकमा दुई सदस्यले असहमति जनाएका थिए। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले असहमति जनाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले शर्मालाई नै सिफारिस गरेका थिए।
Shares

प्रतिक्रिया