सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संवैधानिक परिषद्ले कार्य क्षमतालाई मुख्य आधार बनाएर प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको बताएका छन्।
वरियताक्रम मिचेर चौथो नम्बरका न्यायाधीश शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले प्रस्टीकरण दिएका हुन्। राजनीतिको प्रभावमा नपरेका र कार्य क्षमतामा अब्बल भएकाले शर्मालाई सिफारिस गर्ने निर्णय संवैधानिक परिषद्ले गरेको उनको भनाइ छ।
‘यो पाली सम्भवतः पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस चाँही मुद्दाको फर्स्यौटको हिसाबमा हामीले एउटा इन्डिकेटरको हिसाबमा नै सिफारिस गरेर पठाएका छौँ,’ पोखरेलले भने, ‘यो पनि एकदमै परफेक्ट पद्धति हो भन्न खोजेको होइन तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरी उहाँहरूको कार्य क्षमताको हिसाबमा सिफारिस गरिएको पहिलो पटक हो।’
शुक्रबार मन्त्रिपरषद्को बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री पोखरेलले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम कार्यदक्षलाई प्राथमिकता दिइएको बताए। ‘यसलाई क्रमबद्ध रुपमा सुधार गर्दै अझ राम्रो प्रोसेस बनाउँदै जानुपर्छ। तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस अहिले नै भएको हो भन्ने हामीलाई लाग्छ,’ उनले भने।
Shares

प्रतिक्रिया