मीनाकुमारी खरेललाई नेपाली कांग्रेसले १७ बुँदे जिम्मेवारीसहित महिला संघको अध्यक्षमा नियुक्त गरेको छ। सभापति गगन थापाले दिएको कार्यादेशमा २०८३ जेठ १५ गतेभित्र संघको केन्द्रीय कार्यसमितिलाई समावेशी रुपमा पूर्णता दिन भनिएको छ।
१७ वटा कार्यादेशमध्ये एउटा सामाजिक सञ्जालमा महिलाहरुले भोगिरहेको समस्या बारे छ। पछिल्लो समय सामाजिक सञ्जालमा महिलालाई अपशब्द, गालीगलौज ‘बुलिङ’, ‘ह्यारेस’का घटना बढ्दै गएका छन्। कांग्रेसले महिलाले खेपिरहेको यो समस्याविरुद्ध परिचालन हुन संघ अध्यक्षलाई जिम्मेवारी दिएको हो।
के भनिएको छ?
कार्यादेशअनुसार महिला संघले अब सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट महिलाविरुद्ध हुने गालीगलौज, अपशब्द र ह्यारेसमेन्टविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेछ। ‘साइबर बुलिङ’मा परेकाहरुलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनुपर्नेछ। पीडकलाई कानुनको कठघरामा उभ्याउँदै डिजिटल हिंसा न्यूनीकरणमा भूमिका निर्वाह गर्नुपर्नेछ।
शुक्रबार महिला संघ अध्यक्ष भएकी खरेल २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ उम्मेदवार बनेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निकटतम प्रतिद्वन्द्वी भएर पराजित भएकी थिइन्।
Shares

प्रतिक्रिया