राजनीति


नेताहरू राजीनामा माग्न चाहन्छन्, ओली जिम्मेवारी तोक्ने तयारीमा

नेताहरू राजीनामा माग्न चाहन्छन्, ओली जिम्मेवारी तोक्ने तयारीमा

सागर न्यौपाने
जेठ १, २०८३ शुक्रबार २१:५७, काठमाडौँ

नेकपा एमालेले महाधिवेशन गरेको पाँच महिनापछि नेताहरूको कार्यविभाजन र नयाँ जिम्मेवारी तोक्ने भएको छ। शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने सचिव महेश बस्नेतले जानकारी दिए। 

प्रतिनिधि सभाको चुनावपछि पहिलोपटक ओलीले सचिवालय बैठक राखेका हुन्। गत मंसिर २७ देखि पुस ३ मा सम्पन्न ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए पनि नेताहरूको कार्यविभाजन हुन सकेको थिएन।

‘केन्द्रीय कमिटीको बैठक बोलाउने, नेताहरूको कार्यविभाजन तोक्ने, स्थानीय तहको चुनावको लागि पालिका तहका नेतालाई जिम्मेवारी दिने लगायतका विषयमा निर्णय हुनसक्छ,’ उनले भने, ‘देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरणका विषयमाथि छलफल हुनेछ।’

बैठकमा स्थानीय तहको चुनावी तयारी र गत फागुनमा सम्पन्न प्रतिनिधि सभाको चुनाव समीक्षा हुने सचिव पद्मा अर्यालले बताइन्। 

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीले ओलीलाई चैत १४ गते पक्राउ गरेको थियो। त्यही समयमा एमालेले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो। थापाले दुईपटक सचिवालय बैठक राखे। 

पक्राउ परेको १२ दिनपछि अदालतको आदेशमा ओली थुनामुक्त भएका थिए। त्यही क्रममा उनको गत चैत ३० गते पत्थरीको शल्यक्रिया गरिएको थियो। वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएका उनी राजनीतिक गतिविधिमा सहभागी भएका थिएनन्।

अध्यक्षका कारण लामो समय बैठक बस्न नसकेकोले लामो समय रोक्न नहुने भएरै बैठक राखिएको सचिव अर्यालले बताइन्।

‘अध्यक्ष पूरै बैठकमा बस्न सक्ने अवस्थामा हुनुहुन्न, अब छोटो समय भए पनि बस्न त प¥यो। तत्काल गर्नुपर्ने कामहरूका निम्ति बस्ने हो,’ उनले भनिन्, ‘चुनावको समीक्षा गर्न धेरै समय चाहिन्छ, एउटा विधिबाट गर्ने, अरु तत्काल गर्ने कामको अब बस्ने सचिवालयले निर्णय गर्छ।’

तर, केही पदाधिकारीले नेपाली कम्युनिस्ट पार्टीसँगको एकताको विषयमा पनि छलफल हुनसक्ने बताए।

किनभने एमाले र नेकपाका नेताहरू केही महिनायता बाक्लो भेटघाटमा छन्। दुवै पार्टीका नेताहरू लामो समयदेखि निरन्तर छलफलमा रहेकाले सचिवालय बैठकमा त्यसले प्रवेश पाउनसक्ने उनीहरूको बताउँछन्।

‘मानिसहरूले त्यसबारे आकलन त गरेका छन्, नहोला भन्न पनि सकिँदैन। अध्यक्षज्यूको कुरा हो, फयाट्टै प्रस्ताव ल्याइदिन पनि सक्नुहुन्छ। के भन्न सकियो र,’ ओलीनिकट एक पदाधिकारीले भने।

एमाले सचिव पद्मा अर्यालले पनि नेकपाका नेताबीच निरन्तर भेटघाट भइरहेको स्वीकार गरिन्। 

‘तर, यही बैठकमा एकताबारे निर्णय भइहाल्ने सम्भावना नहोला,’ उनले भनिन्। 

फागुन २१ गतेको चुनावी परिणामपछि पार्टीको जिम्मेवारी छोड्न बहुमत सचिवालय सदस्यले ओलीमाथि दबाब बढाइरहेका छन्। ओली हटाउन उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलको एक समय मोर्चाबन्दी नै भएको थियो। उनीहरूलाई उपाध्यक्ष, केही उपमहासचिव र केही सचिवले साथ दिएका छन्। 

राजीनामा माग्ने नेताहरूसँग आन्तरिक रुपमा केही सहमति जुटेपछि सचिवालय बैठक राख्न अध्यक्ष ओली तयार भएको निकटस्थ एक नेताले दाबी गरे।

‘लामो समय बैठक नबस्दाका अन्योलता हटेको छ,’ ती नेताले भने।

सचिवालयका केही नेताले आफूविरुद्ध तीव्र आक्रोश पोखेर अभिव्यक्ति दिएको, हटाउन गतिविधि गरेकोप्रति ओली रुष्ट छन्। उनीहरूमाथि ओलीले कारबाहीको डण्डा चलाउनसक्ने अनुमान भएका छन्। 

यद्यपि, सचिव बस्नेतले त्यसबारे केही बताएनन्। 

‘सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा,  राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा हुन्छ,’ उनले भने। 

एमालेका पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले बैठककै दिन एजेन्डा सार्वजनिक गरिने बताए। तर, थुप्रै विषयमा बैठकमा छलफल हुनसक्ने उनी बताउँछन्।

सचिव बस्नेतले सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए। स्वास्थ्य लाभ गरिरहेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad