राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन्। ‘म सरकारँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्यौट गर्ने कानुनी ग्यारेन्टी गरियोस्’, अधिकारीले भनिन्।
किसानले दूध, उखु, धानलगायत उत्पादनको मूल्य नपाउँदा युवा रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो। ‘मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ। यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसाहरुको साझा नियती हो’, अधिकारीले भनिन्।
किसानले समयमा भुक्तानी नपाउँदा बालबालिकाको स्कुलको शुल्क तिर्न समेत समस्या भएको सुनाइन्। ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ वर्षौं कुर्नुपर्छ। उसले गाईभैंसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ? त्यसैकारण आज ऊर्जावान युवा आफ्नो उर्बर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन्,’ उनले भनिन्, ‘किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिँदैन।’
उनले मुलुकमा खाद्यान्न मात्र नभई खाद्य आत्मनिर्भरता चाहिएकोमा जोड दिइन्।
Shares

प्रतिक्रिया