प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका नेता अर्जुननरसिंह केसीले आयोग गठनको माग गरेका हुन्। उनले सत्ता वरीपरीको बहसले मात्रै संविधान संशोधनको विषय मान्य नहुने बताउँदै विज्ञसहित सम्मिलित पूर्वप्रधानन्यायाधीश नेतृत्वको शक्तिशाली आयोग गठन गरी राष्ट्रिय सम्वादका लागि गोलमेच सम्मेलन गर्नु अतिआवश्यक भईसकेको जिकिर गरे।
‘संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित रहनुहुँदैन। यसका लागि पूर्वप्रधानन्यायाधीशको संयोजनमा संविधानविद, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ,’ उनले भने, ‘आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्नु अति आवश्यक भईसकेको छ।’
नेता केसीले संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित गर्न नहुने पनि उल्लेख गरेका छन्। ‘राष्ट्रिय जटिलता, द्वन्द्व र सामाजिक ध्रुवीकरणको सत्तावरीपरीको बहसले मात्रै संविधान संशोधन सफल हुँदैन। वृहत राष्ट्रिय सम्वादबाट मात्रै यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमती निर्माण गर्न सक्छ,’ उनले भने।
नेता केसीले संविधानलाई सबैको साझा दस्तावेज बनाउन पनि त्यसको बहसलाई राष्ट्रिय बहसको रुपमा अघि बढाउने काम गर्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया