राजनीति


रविलाई शुभकामना दिँदै बाबुराम भन्छन्: काठमाडौँ र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन्

रविलाई शुभकामना दिँदै बाबुराम भन्छन्: काठमाडौँ र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन्

नेपालखबर
जेठ २०, २०८३ बुधबार १०:७, काठमाडौँ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापित रवि लामिछाने भारत भ्रमणमा रहेका बेला काठमाडौँ र दिल्ली दुवैतिरका आवाज त्यति प्रिय नरहेको टिप्पणी पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरेका छन्। 

नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्‍याउन अभिशप्त भइरहेको उल्लेख गर्दै भट्टराईले रास्वपा सभापति लामिछाने यो दुष्चक्र तोड्न सफल रहून् भनी शुमकामना पनि दिएका छन्। 

‘परन्तु यतिबेलै काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन्’, बुधबार बिहान भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तो छ भट्टराईको पूरा भनाइ

रास्वपा सभापति रवि लामिछानेको द हिन्दुस्तान टाइम्समा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ।

खासगरी नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता/संस्कृति ('रोटी-बेटी') का कुरा गरुन्जेल दुवैतिर वाहीवाही नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरीको विरोधका बाबजुद मैले बिप्पा सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुसी छाएकै हो।

तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैँ दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौँ तर खास्टोमुनि मुड्की बजारिरहन्छौँ।

त्यो हो- सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो। त्यसको पनि गाँठी कुरा हो- भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको 'सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो' (हिमालयन फ्रन्टियर) भन्ने सोच (सीमा विवाद त्यसैको अभिव्यक्ति हो)।

अनि अर्कोतिर हामी नेपालीहरूमा गहीरोसँग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको विषयमा सधैँ झस्काइरहने 'सिक्किमीकरण'को खतराको त्रास।।

यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्‍याउन अभिशप्त भइरहेछ।

यही गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरू र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफू प्रम छँदा राम्रैसँग भित्री र बाहिरी तयारी गरेर ईपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ। परन्तु पछि गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म मृत्युशय्यामा छट्पटाइरहेको जगजाहेरै छ।

रवि लामिछानेजीको वर्तमान दिल्ली भ्रमण यो दुष्चक्र तोड्न सफल रहोस्। परन्तु यतिबेलै काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad