सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढिरहेका बेला पार्टी फुटाउन नहुने माग गर्दै जनकपुर स्थित पार्टी कार्यालयमा नेकपाका युवा, विद्यार्थी संगठनले धर्ना दिएका छन्। राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन धनुषाले शुक्रबार दिउँसो संयुक्त रुपमा धर्ना दिएका हुन्।
पार्टी फुटाउने खालको कुनै किसिमको गतिविधि नगर्न, नगराउन नेतृत्वलाई दबाब दिँदै उनीहरुले जिल्ला पार्टी कार्यालय मार्फत केन्द्रिीय कार्यालयमा ज्ञापन पत्र बुझाएको युवासंघका धनुषा संयोजक सरोज यादवले जानकारी दिए।
गएको बुधबार जनकपुर लगायत देशको विभिन्न ठाउँमा सरकार ढाल्न पाइँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निकटले गरेको प्रदर्शनलाई 'उच्छृंखल गतिविधि' को संज्ञा दिँदै ज्ञापन पत्रमा त्यस्ता गतिविधि राेक्न माग गरिएकाे छ।
उच्छृंखल गतिविधिले पार्टी संगठन र आम जनतामा नकारात्मक असर परेको उनीहरुकाे दाबी छ।
युवासंघका धनुषा जिल्ला संयोजक सरोज यादव र अनेरास्ववियू धनुषाका संयोजक आरपी यादवले हस्ताक्षर गरेको ज्ञापन पत्र पार्टी केन्द्रीय कार्यालयमा पठाइएको हो।
फुटवादीहरु होसियार, एमसीसी खारेज गर, संसद अधिवेशन चालु गर लगायतका नारा लेखिएका प्लेकार्डसहित दुवै संगठनका नेता कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएका थिए।

प्रतिक्रिया