सत्तारुढ नेकपामा तत्काल केन्द्रीय कमिटी बैठकको माग गर्दै १५३ जना केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा सो हस्ताक्षर बुझाइएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए।
महासचिव विष्णु पौडेललाई हस्ताक्षर बुझाउने भनिए पनि उनी सहभागी नभएपछि पार्टी कार्यालयका सचिवलाई हस्ताक्षर बुझाइएको दाहालले बताए।
पार्टीको एकपक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि आन्तरिक विवाद चुलिएका बेला केन्द्रीय कमिटी बैठक माग गरिएको हो।
‘महासचिवलाई बुझाउने कार्यक्रम थियो तर, उहाँ आउनुभएन,’ दाहालले नेपालखबरसँग भने, ‘केन्द्रीय कार्यालयका सचिवमार्फत दुई अध्यक्षलाई पुग्नेगरी बुझाएका छौं।’
नेकपाको कुनैपनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था गरिएको छ। यसअघि माघको १५ देखि १९ सम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो।
केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले अहिले पार्टीको शीर्ष तहमा चुलिएको विवादले पार्टीपंक्तिलाई निकै निराश बनाएको हुँदा यसलाई छिटो सुल्झाउनु पर्ने र त्यसका लागि उचित निकाय केन्द्रीय कमिटी नै भएकोले सो कमिटीको बैठक माग गरिएको बताइन्।
‘यो विवाद अब लम्ब्याउनु हुँदैन। पार्टीमा निराशा छायो। स्थायी कमिटी र सचिवालयले सुल्झाएनन्,’ झाक्रीले नेपालखबरसँग भनिन्, ‘राजनीतिक र सांगठनिक विषय सुल्झाउने महाधिवेशनपछि सबैभन्दा शक्तिशाली र बैधानिक निकाय केन्द्रीय कमिटी हो, अब त्यसबाटै समाधान खोज्नुपर्छ भनेर हामीले बैठक माग गरेका हौं।’
३४ दिनदेखि जारी स्थायी कमिटीको बैठक नियमित एजेण्डामा प्रवेश नगरी स्थगित हुँदै आएका बेला केन्द्रीय कमिटी बैठक माग गरिएको हो।
मंगलबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेपछि नेकपा विवादले गम्भीर मोड लिएको छ।
पार्टी एकतालाई तलमाथि गर्न नहुने र नेताहरु सहमतिका साथ अघि बढ्नको लागि पनि केन्द्रीय कमिटी बैठक जरुरी रहेको ठहर गर्दै बैठक माग गरेको अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।



प्रतिक्रिया