राजनीति


ओली र प्रचण्डकै क्षेत्रमा यस्तो छ फुटको प्रभाव, चुनाव भए जित्लान्?

ओली र प्रचण्डकै क्षेत्रमा यस्तो छ फुटको प्रभाव, चुनाव भए जित्लान्?

मणि दाहाल
माघ १२, २०७७ सोमबार ९:९,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गरेका छन्। विघटनको संवैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेका छन्। धेरैको अपेक्षा सर्वोच्च अदालतले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधि सभा पुनस्थापना गर्छ भन्ने नै छ। तर यदि पुनस्थापना भएन र निर्वाचनमै जाने अवस्था आयो भने विभाजित नेकपाका दुई समूहबीच चुनावी भिडन्त हुने अवस्था देखिँदैछ। त्यस्तो हुँदा अघिल्लो निर्वाचनमा गठबन्धन गरेर जितेका क्षेत्रमा अब जित्न कठिन हुनेछ।

चुनाव हुँदाको अवस्थामा शीर्ष नेताहरु लड्ने निर्वाचन क्षेत्रमा धेरैको चासो देखिन्छ। ओलीको निर्वाचन क्षेत्र झापा ५ र पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा नेकपा विभाजनको प्रभाव के कस्तो परेको छ भन्नेमा धेरैको ध्यान छ।

यी दुवै नेता अघिल्लो निर्वाचनमा फराकिलो अन्तरले विजयी भएका थिए। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन कायम भएकाले प्रायः शीर्ष नेताहरुले ठूलो मतान्तरले चुनाव जितेका थिए। तर, अहिले नेकपा फुटेको अवस्थामा उनीहरुले त्यति सजिलै चुनाव जित्ने सम्भावना देखिँदैन।

झापा ५: पार्टी फुट्दा ओलीले जित्ने सम्भावना कम
ओलीले पटकपटक चुनाव जित्दै आएको क्षेत्र हो यो। विघटित प्रतिनिधिसभा निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट ओलीले २९ हजार मत अन्तरका साथ जित हासिल गरेका थिए। तर, त्यसबेला झापामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मात्रै नभएर राप्रपासँग पनि गठबन्धन गरिएको थियो।

यो क्षेत्रमा ओलीको गृहनगर दमकसहित २ नगर र २ गाउँपालिका पर्छन्। जसमध्ये दुई वटा– दमक नगर र कमल गाउँपालिका एमालेले जितेको थियो। कमल गाउँपालिकाको प्रमुखमा मत बराबरी भएपछि गोलाप्रथा गर्दा मेनुका काफ्ले विजयी भएकी थिइन्।

गौराहद नगरपालिकाको मेयर कांग्रेसले जितेको थियो। जसलाई कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गुल्मीको रेसुङ्गामा तत्कालीन एमालेले प्राप्त गरेको जितको क्षतिपूर्ति भएको बताएका थिए। त्यसैगरी गौरीगञ्ज गाउँपालिकाको मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो।

गौरीगञ्जको वडा नम्बर ३, ४, ५ र ६, दमक नगरपालिका, कमल गाउँपालिका तथा गौरादहको वडा नं १ देखि ८ सम्म झापा ५ मा पर्छ।

नेकपाका झापा जिल्ला कमिटीका सदस्य मणि भण्डारी विभाजनको असर तल्लो कमिटीसम्म पुगेको बताउँछन्।

‘विभाजन असर तल्लो तहसम्म छ। अहिले कार्यकर्ता लेभलमा रहेको विभाजन चुनावको समयमा मतदातामा पुगिहाल्छ,’ उनी भन्छन्।

उनले नेकपाका प्रमुख गढ मानिने दमक नगरपालिका र कमल गाँउपालिकाको कमिटीमा दुवै पक्ष बराबरीकै हैसियतमा रहेको बताए।

‘२०५६ सालको चुनावमा यस ठाउँबाट केपी ओलीले १२ हजार मतान्तरले जित्नु भएको थियो। २०६४ सालको पहिलो संविधानसभामा हार्नु भयो,’ भण्डारीले भने, ‘अघिल्लो चुनावमा २९ हजार मतान्तर छ भनेर हौसिने अवस्था छैन। चुनावी माहोल कसरी अघि बढ्छ, त्यसले धेरै कुराको निर्धारण गर्छ।’

गत प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५७ हजार १३९ मत प्राप्त गरेका थिए भने उनको निकटमत प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरेका थिए। ओलीले प्राप्त गरेको मत त्यसको एक वर्षअघि भएको स्थानीय तहमा एमाले, माओवादी र राप्रपाले प्राप्त गरेको मत बराबरी नै छ।

स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा एमालेले करिब साढे ३१ हजार, कांग्रेसले साढे २७ हजार, माओवादीले साढे १५ हजार र राप्रपाले साढे १२ हजार मत प्राप्त गरेका थिए। त्यसैले माओवादी, राप्रपा र एमालेकै एउटा हिस्सा फुट्दा ओलीलाई चुनाव जित्न कठिन देखिन्छ।

चितवन ३: ओली पक्षको प्रभाव न्यून
पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौँबाट चुनाव जितेका प्रचण्ड दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट निर्वाचित भएका थिए भने काठमाडौँमा पराजित। गत प्रतिनिधिसभा निर्वाचन भने उनले गृह जिल्ला चितवन ३ बाट जितेका थिए। प्रचण्डले ४८ हजार २७६ मत ल्याएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वीमा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई कांग्रेसको पनि समर्थन थियो।

संविधानसभाको समयमा रहेको चितवन ४ र ५ निर्वाचन क्षेत्रलाई मिलाएर अहिले ३ नम्बर क्षेत्र बनाइएको हो। जसमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा र माडी नगर पर्छ।

स्थानीय तहको चुनावमा १९ वडामध्ये ५ वटा एमालेले, ३ वटा माओवादी केन्द्रले तथा ११ वटा वडा कांग्रेसले जितेको छ। भरतपुर महानगरका १९ वटा वडामा माओवादीले साढे १३ हजार मत प्राप्त गरेको थियो भने माडीमा करिब चार हजार। महानगरको १९ वडामा एमालेको मत २१ हजार र माडी नगरपालिकाको मत करिब चार हजार थियो। दुवै मतलाई जोड्दा साढे ४२ हजार पुग्छ। तर, प्रचण्डले त्योभन्दा झण्डै ५ हजार मत बढी ल्याएका थिए।

यता भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय र माडी नगरपालिकामा साढे तीन हजार थियो।

नेकपाका जिल्ला कमिटीका इन्चार्ज कृष्ण खनालले कार्यकर्ताको तहमा विभाजनको असर न्यून देखिएको दाबी गरे। चितवनमा ओली पक्षको प्रभाव कम भएकाले त्यस्तो देखिएको उनको भनाइ छ।

‘अहिलेको जिल्ला कमिटीमा खासै प्रभाव देखिएको छैन,’ खनालले भने, ‘एमाले हुँदै पनि चितवनमा ओली पक्षलाई समर्थन गर्नेहरुको निकै कमजोर अवस्था थियो।’

उनले १ सय ७७ सदस्यीय जिल्ला कमिटीमा ४ जना मात्रै ओलीतर्फ खुलेको बताए। कार्यकर्ताको तहमा एकलौटी हुँदाहुँदै पनि चुनावमा के हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनी बताउँछन्।

‘पहिलो कुरा त चुनाव नै हुँदैन। भैहाल्यो भने परिस्थिति कस्तो हुन्छ अहिल्यै भन्न सकिन्न,’ उनले भने, ‘तर, ओली पक्षको प्रभाव भने छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .