राजनीति


यसकारण कमजोर बन्दैछ शक्ति र साख गुमाएका वामदेवको एकता अभियान

यसकारण कमजोर बन्दैछ शक्ति र साख गुमाएका वामदेवको एकता अभियान

मणि दाहाल
माघ १४, २०७७ बुधबार १६:२५,

तत्कालीन नेकपा एमालेमा हुँदा र माओवादीसँग एकीकरण भएपछिको नेकपाका कार्यक्रमहरुमा समेत वामदेव गौतमले एउटा भनाइ दोहोर्‍याउने गर्थे– ‘पार्टीमा आँट भएको नेता मै हुँ। मैले पार्टी फुटाएर चेतिसकेँ। अब कसैले यो पार्टी फुटाउने आँट गर्ने छैन।’

२०५४ सालमा नेकपा–एमालेबाट छुट्टिएर नेकपा–माले गठन गरेका गौतम चार वर्षपछि एमालेमै फर्किएका थिए।

२०५६ सालको आमचुनावमा मालेले शून्य सीट प्राप्त गरेपछि उनको पार्टी अघि बढ्ने अवस्था रहेन।

२०५८ सालमा एमालेमा फर्किएपछि पनि पूर्वमालेका नेता कार्यकर्ताको साथ उनलाई नै थियो। मुख्य एजेन्डाहरुमा उनीहरु गौतमसँगै उभिन्थे।

सबै जिल्लामा आफ्नो कार्यकर्ता रहेका गौतम एमालेभित्र ‘किङमेकर’ को भूमिकामा लामो समय रहे।

गौतमको एकप्रकारको सांगठनिक शक्ति छदै थियो भने उनको स्वभाव र शैलीको पनि एउटा प्रभाव थियो। कुनै एजेन्डाबारे निर्णायक अवस्था आइपर्दा आफूलाई लागेको कुरा पार्टी बैठक र अन्यत्र पनि सोझै राख्ने गौतमलाई आफ्नो पक्षमा पार्न सबैको जोड हुन्थ्यो।

गौतमको ठोकुवाविपरित सत्तारुढ नेकपा अहिले राजनीतिक तथा सांगठनिकरुपमा विभाजित भइसकेको छ। विभाजनको कानुनी औपचारिकता नपाए पनि यी दुवै पक्षले दुई पार्टीको अभ्यास सुरु गरिसकेका छन्।

पार्टीमा विभाजन आइपर्दा यस पटक भने गौतमले फरक शैली र रणनीति अपनाए। विभाजित कुनै पक्षतर्फ पनि नलागी गौतमले एकताको रटान लगाउन थाले।
उनले एकताका लागि राष्ट्रिय अभियान सुरु गर्ने घोषणा गरे। बुधबार राजधानीबाट सो अभियानको आरम्भ गरेका छन्।

सो कार्यक्रममा गौतमले ६ महिनाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाललाई एक्लै पारिदिने दाबी गरे।

नेकपाको ठूलो पङ्ती अहिले पनि एकताकै पक्षमा रहेको भन्दै पार्टीभित्रको दोस्रो तथा तेस्रो पुस्ताका नेताहरुबाट पनि आफूले साथ पाउने उनको दावी छ।

प्रचण्ड नेपाल र ओली पक्षमा कतै पनि नलाग्ने घोषणा गरेका गौतमले सो अभियान सञ्चालनका लागि ६ सय ५१ सदस्यीय समिति बनाएका छन्। जसमा १ सय ७५ सदस्य रहेको केन्द्रीय समिति छ।

तर शक्ति र साख गुमाउँदै गएका वामदेव गौतमले सुरु गरेको राष्ट्रिय अभियान प्रभावकारी हुन नसक्ने उनलाई नजिकबाट चिन्ने धेरै नेताहरुको ठम्याइ छ।

प्रचण्ड–नेपाल र ओली समूह दुवैतर्फका नेताहरुले अब नेकपालाई एक स्थानमा ल्याउने अवस्था नरहेको र उपाध्यक्ष गौतमले अभियानले काम नगर्ने बताए। परिस्थिति धेरै पर पुगिसकेको उनीहरुको भनाइ छ।

‘गौतमसँग पहिले जस्तो एक गराउन सक्ने र निर्णायक भूमिका खेल्नसक्ने पार्टीभित्र उहाँको शक्ति पनि छैन र नौतिकरुपले पनि उहाँ अब त्यसो गर्नसक्ने अवस्थामा हुनुहुन्न,’ उनीसँग सहकार्य गरेका एक स्थायी कमिटी सदस्यले भने।

पार्टीभित्र कमजोर अवस्था
७३ वर्ष पुगेका गौतमले बुधबारको कार्यक्रमबाट अब आफ्नो अभियान देशव्यापी हुने र प्रभावकारीरुपमा अघि बढ्ने बताए।

उनले पार्टीको संगठन निर्माणमा बढि समय बिताएका त्रिशुलीपारीको पश्चिम नेपालमा नै यसपटक पनि उनले ध्यान बढी केन्द्रित गर्ने बताइएको छ।

उनले ओली र प्रचण्डसँग रहेका कार्यकर्तालाई आफूतर्फ तानेर उनीहरुलाई एक्लै बनाइदिने चेतावनी त दिए तर पछिल्लो समय पार्टीभित्र गौतमको पकड निकै कमजोर भइसकेको छ।

दुई दशकअघि एमाले विभाजन गरेर माले गठन गरेका गौतम पुनः एमालेमा फर्केपछि पनि पार्टीभित्र शक्तिशाली गुटको नेतृत्व गर्दथे।

गौतमले आठौ महाधिवेशनमा झलनाथ खनाललाई साथ दिए र उनलाई अध्यक्षमा जिताउन प्रमुख भूमिका खेले। नवौं महाधिवेशनमा केपी शर्मा ओलीलाई साथ दिए। उनको साथले ओली पार्टी अध्यक्ष बन्न सफल भए।

नवौं महाधिवेशनअघि नै २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि ओलीलाई संसदीय दलको चुनाव जिताउन गौतमको साथ नै प्रमुख आधार बन्यो।

ओलीले तत्कालीन अध्यक्ष झलनाथ खनालसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा गौतमको साथ पाए। एकअर्काप्रति तिब्र विरोधी रहेका ओली र गौतम पहिलोपटक यहिबेला एक ठाउँमा पुगेका हुन्।

गौतमको साथ पाएपछि ओली बहालवाला अध्यक्ष खनाललाई हराएर संसदीय दलको नेता बन्न सफल भए। त्यसपछि नवौं महाधिवेशनमा समेत गौतमको साथ पाएपछि ओलीले पछि फर्किनु परेको छैन।

नवौ महाधिवेशनसम्म पूर्वमाले समूहबाट १ सयदेखि १ सय ५० जनासम्म प्रतिनिधि चुनिन्थे। जुन तीव्र प्रतिस्पर्धा हुने महाधिवेशनको नतिजा पल्टाउन निर्णायक संख्या हुने गर्थ्याे।

‘नवौ महाधिवेशनसम्म गौतम पार्टीभित्र शक्तिशाली हुनुहुन्थ्यो। आफै किङ बन्न नसकेपनि किङमेकरको भूमिकामा हुनुहुन्थ्यो। तर अहिले त्यस्तो अवस्था छैन,’ अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँका साथमा कार्यकर्ताको पङ्ती छैन भन्ने आजको कार्यक्रममै पनि देखिइहाल्यो। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतमको साथमा एक जना मात्रै हुनुहुन्छ।’

ती नेताले अहिले गौतमको अवस्थालाई रामचन्द्र बनवास जाँदाको अवस्थासँग तुलना गरे।

‘आफू पछि आएको बानर सेनालाई दुई भागमा दुई दिशामा पठाएपछि रामचन्द्र एक्लै भएको जस्तो अवस्था छ,’ उनले भने।

नवौ महाधिवेशनमा गौतमसँगै ओली समूहमा पुगेका गौतमनिकटहरु अधिकांश ओलीसँगै बसेका छन्। केशवलाल श्रेष्ठ, बलराम बाँस्कोटा, सावित्रा भुसाललगायत उनीसँगै ओली समूहमा पुगेका केही नेताहरु प्रचण्ड–नेपाल पक्षमा फर्केका छन्।

गौतम आफैसँग भने पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य हरि पराजुली मात्र बाँकी छन्।

संसदीय दलको चुनावमा पहिलोपटक गौतमले ओलीतर्फ लाग्दा नै गौतमलाई साथ दिँदै आएका केहि निर्णायक नेताहरुले विस्तारै उनको साथ छाडेका थिए।

त्यतिबेला गौतम ओलीलाई संसदीय दलको नेता बनाउन लागि पर्दा उनीनिकट रहेका घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाक्रीसहितको ठूलो पङ्ती खनाललाई जिताउन सक्रिय रह्यो। गौतम गुटमा त्यतिबेलै ठूलो चिरा परेको हो।

त्यतिबेला गौतमको साथ लागेर ओली समूहमा पुगेका नेताहरु किरण गुरुङ, यामलाल कँडेल, रविन्द्र अधिकारी, गणेश ठगुन्ना, पदमा अर्याल, नविना लामा, नरबहादुर धामीहरु २०७४ सालको चुनावसम्म आइपुग्दा गौतमभन्दा ओलीनिकट बनिसकेका थिए।

जसलाई गौतम आफैले पनि बुधबारको धोबीघाटको कार्यक्रममा समेत स्वीकार गरे।

‘मसँगै रहेका, मलाई साथ दिने साथीहरूलाई बोलाएँ। उहाँहरू चार–पाँच दिन मसँग रहनुभयो। छैठौँ दिनमा उहाँहरूले पिठ्युँ फर्काएर जानुभयो,’ उनले भने ‘कोही उत्तरतिर (ओलीतिर) जानुभयो। कोही दक्षिणतिर (प्रचण्ड–नेपाल) जानुभयो।’

अस्थिर चरित्र
गौतमको एकता अभियानको अर्को समस्या भनेको पछिल्लो समयमा उनले देखाएको अस्थिर चरित्र हो।

‘सुरुमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भनेर लिखितरुपमा र कडारुपमा स्थायी कमिटीमा प्रस्ताव राख्ने नेता गौतम नै हो,’ प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्यले भने, ‘जब वास्तविक लडाईं सुरु भयो। पहिला मैदान छाडेर भाग्ने गौतम नै हुनुभयो। जुन प्रकारको अस्थिरता उहाँले देखाउनु भयो त्यसले गर्दा नैतिकरुपमा पनि उहाँको अभियान अघि बढ्ने देखिएको छैन।’

प्रधानमन्त्री ओलीबाट पार्टी तथा सरकार सञ्चालन हुन नसकेको भन्दै गौतमले नेकपा स्थायी कमिटीको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै राजीनामा माग गरेका थिए।

नेकपा विवाद चरम अवस्थामा पुगेको समयमा भने गौतमको भूमिका संदेहास्पद हुने गरेको नेताहरुको ठम्याइ छ।

‘सचिवालय बैठकपछि उहाँले यता र उता गरिरहनु भयो। अवसरवादी र ढुलमुले हुनुभयो,’ अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘कडा रुपमा प्रस्तुत हुने गौतमसँग ओलीले प्रधानमन्त्री बनाउने वाचा गर्ने बित्तिकै उहाँ बहकिने गर्नुभएको थियो, जबकि संवैधानिक रुपमा उहाँ प्रधानमन्त्री बन्ने अवस्थै थिएन।’

पछिल्लो समय पाउनै नसक्ने पदका लागि समेत उनले देखाएको आशक्तिका कारण उनी नैतिक संकटमा रहेको ती नेताको भनाइ छ।

तर गौतमले भने आफ्नो अभियान निस्वार्थ भएको जिकिर गर्दै आएका छन्।

‘मैले दुईवटा कुरा प्राप्त भयो भने शान्तिका साथ मर्छु भन्ने थियो,’ गौतमले भने, ‘पहिलो मुलुकमा गणतन्त्र होस भन्ने थियो र अर्को कम्युनिष्ट आन्दोलन एकताबद्ध होस भन्ने छ।’

यसरी देशमा गणतन्त्र स्थापनापछि दुई ठूला कम्युनिष्ट पार्टीबीच एकीकरण भई संसदमा दुईतिहाइको बहुमत हासिल भएका बेला फेरि विभाजन हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

‘त्यसैले फेरि पार्टीलाई एक बनाउने मेरो अभिभारा बनेको छ,’ उनले भने।

यो पनि:
दुई चरणमा नेकपाको पुनः एकीकरण, यस्तो छ वामदेव गौतमको अवधारणापत्र (पूर्णपाठ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .