राजनीति


देउवालाई संकेत गर्दै गगनले भने : अदालतको बारेमा बोल्दैनौँ भन्नेहरु कायर हुन्

देउवालाई संकेत गर्दै गगनले भने : अदालतको बारेमा बोल्दैनौँ भन्नेहरु कायर हुन्

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ११:३५,

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अदातको बारेमा बोल्दैनौँ भन्नेहरु कायर भएको बताएका छन्।

शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधि सभा विघटनका विरुद्धमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेर कांग्रेसले बोलिसकेको बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसबारेमा नबोल्ने बताइरहेका बेला नेता थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

नेता थापाले आफूहरु बीपी कोइरालाका कार्यकर्ता भएको बताउँदै प्रतिनिधि सभा विघटनविरुद्ध चुप नबस्ने बताए।

‘केही साथीहरु के भन्नुहुन्छ भने, अदालतका बारेमा बोल्नु हुँदैन। म फेरि भन्छु- बीपी कोइरालाको पार्टीको कार्यकर्ता हौँ हामीहरु र यही बीपी कोइराला हो जसले सर्वोच्च अदालततर्फ हेरेर भन्नुभयो–यो अदालत हो श्रीमान्, न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस्, दायाँ–बायाँ, वर–पर नहेर्नुहाेस्, न्याय गर्नुहोस्। विवेक पुर्‍याउनुहोस्’, उनले भने, ‘पञ्चायतका बेलामा फाँसी मुद्दा लागेका बीपीका कार्यकर्ता हौँ हामीहरु। आज रामशाह पथ देखेर परपर भागेर अदालतको बारेमा बोल्दैनौँ भन्छन् भने ती कायरहरु हुन्।’

उनले अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराख्न समेत आग्रह गरे। उनले कांग्रेसले पुस ५ को कदमलाई असंवैधानिक भनिसकेको बताए।

नेता थापाले दुवै हातमा लड्डु खोज्ने कांग्रेसका केही नेताका कारण पार्टीमाथि प्रश्न उठेको बताए। उनले यस प्रश्नको पनि हल खोजेर अगाडि बढ्नु पर्ने बताए।

उनले नेकपाको फुटमा कांग्रेसले बाजी मार्न सक्ने भए पनि एक पटकको जितलाई हेरेर व्यवस्था मास्न नुहने बताए। उनले नेकपा विभाजनतर्फ संकेत गर्दै नेकपा एक आापसमा भिडिरहेका बेला गोल गर्न सजिलो भए पनि मैदान मासेर गोल गर्न नहुने बताए।

‘चुनाव जित्ने कुरा एउटा राजनीतिक दलले सोच्छ, सोच्नुपर्छ। के एउटा चुनाव जित्ने वा हार्ने कुराका निम्ति नेपाली कांग्रेस पार्टी बनेको हो’, उनले भने, ‘आज खेल मैदानमा जाँदै गर्दा अर्को पक्षका साथीहरु आफै एक-अर्कालाई हानिरहेका छन्, कोही लडेका छन्, ढलेका छन्, गोल हान्न सजिलो हुन्छ भन्ने तपाईंलाई  लागेको छ, मलाई पनि लागेको छ। गोल हान्न सजिलो हुन्छ भन्ने लाग्दै गर्दा यति त ध्यान पुर्‍याऊ, खेल मैदान रहे  पो गोल हानौँला। खेल मैदान नै रहेन भने गोल कहाँ गएर हान्ने हो?’

 उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासले जनताका अधिकार खोस्ने शासकका रुपमा चित्रित गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad