ad ad

राजनीति


जसपाका यी ४ सांसद जो संसदीय दलको नेता नै परिवर्तन गरेर मन्त्री बने

जसपाका यी ४ सांसद जो संसदीय दलको नेता नै परिवर्तन गरेर मन्त्री बने

प्रशान्त लामिछाने
बैशाख ७, २०७८ मंगलबार ७:५४,

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का सांसदले संसदीय दलको नेता नै परिवर्तन गरेर सरकारमा सहभागी भएको खुलेको छ।

लुम्बिनीमा जसपाका ६ सांसदमध्ये दुई तिहाइ सांसदले संसदीय दलको नेताबाट सहसराम यादवलाई हटाएर दलको नयाँ नेता चुन्दै सरकारमा गएको बताएका छन्।

जसपाका चार सांसद सरकारमा गएपछि मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव संकटमा परेको छ।

अविश्वासको प्रस्ताव दर्ता हुनुभन्दा एक दिनअघि आइतबार नै जसपाका ४ सांसदले यादवलाई हटाएर प्रमुख सचेतक रहेका सन्तोष पाण्डेलाई संसदीय दलको नेता चयन गरेको नवनियुक्त मन्त्री तथा जसपा सांसद विजय बहादुर यादवले नेपालखबरलाई बताए।

जसपा लुम्बिनी प्रदेश कमिटीले सरकारमा गएका चार मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो। तर उक्त कारबाही अवैधानिक भएको नवनियुक्त मन्त्री यादवको दावी छ।

‘लुम्बिनीमा पूर्वराजपा र संघीय समाजवादीको समायोजन नै भएको छैन,’ उनले भने, ‘यो अवस्थामा जसपा प्रदेश कमिटीले हामीलाई कारबाही गर्न सक्दैन।’

पूर्वराजपाको प्रदेश कमिटीले सरकारमा जान आफूहरुलाई निर्देशन दिएको समेत उनले बताए।

सहसराम यादवले आफू नै जसपा संसदीय दलको नेता रहेको बताए।

‘जसपा लुम्बिनी प्रदेश संसदीय दलको नेता म नै हुँ,’ यादवले भने, ‘जसपा संसदीय दलले मलाई हटाएको कुनै जानकारी छैन।’

नवनियुक्त मन्त्री सन्तोष पाण्डेले भने बहुमत सांसदहरुको बैठकले आफूलाई जसपाको संसदीय दलको नेता बनाएको बताए।

‘सहसराम जीलाई बहुमतले दलको नेताबाट हटाएर मलाई चयन गरेको छ,’ उनले भने, ‘जसपा संसदीय दलको नेता म नै हुँ।’

संसदीय दलको बहुमतको निर्णयले पार्टी सरकारमा गएको उनले बताए।

‘अहिले देशमा संघीयता आइसकेको छ,’ उनले भने, ‘प्रदेशमा गर्ने हरेक निर्णय केन्द्रबाट प्रमाणित गराउनु पर्दैन। यो संघीयताको अभ्यास हो।’

यो पनि: मुख्यमन्त्री फेर्न लुम्बिनीमा पनि माधव नेपाल पक्षकै भरः यस्तो छ अंकगणित

तर प्रदेश सभा सचिवालयले भने जसपाको संसदीय दलको नेता परिवर्तन भएको जानकारी प्राप्त नभएको जनाएको छ।

‘संसदीय दलको नेता परिवर्तन गरिएको आधिकारिक जानकारी प्रदेश सभाको सचिवालयमा आएको छैन,’ लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नेपालखबरसँग भने, ‘दलको नेता परिवर्तन गरिएको जानकारी प्रदेश सभालाई दिनुपर्छ। नत्र हाम्रो सचिवालयमा पहिला जुन दलको नेता दर्ता भएको छ उहाँ नै कायम रहिरहनुहुन्छ।’

संसद सचिवालयमा दर्ता नभएसम्म नयाँ नेता को हो भन्ने कुरा संसदले नचिन्ने उनले बताए।

सोमबार मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेश सरकार विस्तार गर्दै सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादवलाई भूमि व्यवस्था तथा कृषी तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक, र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए।

जसपाले संसदीय दलको सोमबार बैठक बसेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको बताइएको छ। सो निर्णय सहसराम यादवको नेतृत्वमा भएको देखिन्छ।

तर बहुमत सांसदहरु छुट्टै बैठक बसेर फरक निर्णय गरेकाे  सन्ताेष पाण्डे पक्षकाे भनाइ छ।

‘जसपाका ६ मध्ये चारजना सांसद बसेर संसदीय दलको नेता परिवर्तन गरिएको देखिन्छ। त्यसो गरेपछि संसद सचिवालयमा दलको नेता परिवर्तन गराएको सूचना दर्ता गराउनुपर्ने हो तर गरिएको छैन,’ सचिवालय स्रोतले भन्यो।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८५ सदस्य छन्। जसमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।

प्रदेश सभामा हाल कायम रहेको ८५ सांसद संख्या अनुसार मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन ४३ जना सांसद संख्या आवश्यक हुन्छ।

तीन पार्टीले दर्ता गराएको अविश्वास प्रस्तावमा ४१ जनाको हस्ताक्षर छ। हस्ताक्षर गरेका जसपाका ४ सांसद नै मन्त्री बनेपछि अविश्वासको प्रस्तावको अंकगणितमा फरक परेको छ।

जसपाका ४ सांसद पोखरेलको पक्षमा गएपछि हस्ताक्षर गरेका ३८ सांसद मात्रै प्रस्तावको पक्षमा बाँकी रहेको देखिन्छ।

अब त्यहाँ मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित गरी मुख्यमन्त्री परिवर्तन गर्नका लागि कर्णालीमा जस्तै एमालेकै सांसदहरुलाई ‘फ्लोर क्रस’ गराउनुपर्ने हुन्छ, जुन कठीन रहेको नेताहरुको भनाइ छ।

यो पनिः

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव

लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .