राजनीति


प्रवासको भर्चुअल 'एकता सन्देश सभा’मा प्रचण्डले भने : नेपाली कम्युनिस्ट पार्टी आत्मालोचना र संकल्प हो

'यो एकता प्रवासबाट समेत अनुमोदन भएको छ'
प्रवासको भर्चुअल 'एकता सन्देश सभा’मा प्रचण्डले भने : नेपाली कम्युनिस्ट पार्टी आत्मालोचना र संकल्प हो

शेरबहादुर परियार
मंसिर २१, २०८२ आइतबार २१:५२, मध्य युरोप

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टीहरूको एकताले जनतामा उत्साह आएको दाबी गरेका छन्। 

आइतबार नेकपाको प्रवास विभागले आयोजना गरेको भर्चुअल 'एकता सन्देश सभा’ लाई सम्बोधन गर्दे उनले आफूहरूको एकतालाई जनतालाई सहर्ष स्वीकार गर्दे अनुमोदन गरेको जिकिर गरेका हुन्।

'नेपाली कम्युनिस्ट पार्टीको एकता विगतमा भएका कमीकमजोरीको आत्म समीक्षा, आत्मालोचना र संकल्प हो। एकताको लागि छलफल र बहस पहिलेदेखि भएको हो। जेनजी विद्रोहले रूपान्तरित हुन थप प्रेरित र दबाब दियो', उनले भने, 'यसबीच राष्ट्रले व्यक्तिवाद र अहंकार प्रवृत्तिका कारण ठूलो मूल्य चुकाउनुपर्‍यो। राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको यो एकतालाई प्रवासबाट समेत अनुमोदन भएको छ।'

यस्तै नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको एकताले मुलुक तरंगित र उत्साहित भएको बताए।

'यो एकताले जनतामा कस्तो प्रभाव पर्ला भन्ने थियो। तर जनताले हामीले सोचभन्दा बढी स्वागत र समर्थन पायौँ। प्रवासमा बस्ने तपाईँहरूले आफ्ना घरपरिवार तथा आफन्तलाई नेकपालाई साथ दिन भन्नुपर्छ', नेपालले भने।

साविक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाहले अध्यक्षता गरेको भर्चुअल कार्यक्रमलाई नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा नेताहरू पम्फा भुसाल, शेरबहादुर कुँवरलगायतले सम्बोधन गरेका थिए।

एकतामा आएका वामपन्थी घटकमध्ये माओवादीनिकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्य गरी प्रवासमा क्रियाशील छन्।

भौगोलिक र गैरभौगोलिक सबै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको नेकपाले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कोसी र मधेस प्रदेशमा सन्देश सभा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad