ad ad

राजनीति


ताप्लेजुङमा खेलप्रसादले योगेशको खेल बिगारिदिने सम्भावना

ताप्लेजुङमा खेलप्रसादले योगेशको खेल बिगारिदिने सम्भावना

मतदातालाई सेल्फी दिँदै माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (बायाँ) र इन्सेटमा योगेश।


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:१, काठमाडौँ

स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्दा ताप्लेजुङमा सत्तागठबन्धनमा नेपाली कांग्रेस (१८२८४), माओवादी केन्द्र (४४९७) र एकीकृत समाजवादी (१३०८) भन्दा एमाले (२४२९५) २ सय ६ मतले अगाडि थियो। 

उम्मेदवारको व्यक्तित्व र पृष्ठभूमि हेर्दा पनि एमाले सचिव योगेश भट्टराईजस्ता राष्ट्रियस्तरका चर्चित नेतासँग सत्तागठबन्धनले माओवादी केन्द्रबाट खासै नाम नसुनिएका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाई मैदानमा उतारेको थियो। 

निर्वाचनपूर्वको अवस्था हेर्ने हो भने एमालेले आफ्ना उम्मेदवार भट्टराईलाई ‘कन्फर्म’ जित्ने सूचीमा राखेको थियो। स्थानीय तह निर्वाचन परिणाम, योगेशको व्यक्तित्व र कांग्रेसका धेरै मत ‘ट्रान्सफर’ नहुने अनुमानबीच गठबन्धनले बुढाक्षेत्रीलाई स्पष्टरुपमा ‘रेड जोन’ मा राखेको थियो।  

तर ताप्लेजुङमा जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार बुढाक्षेत्रीले सबैलाई आश्चर्यमा पारेका छन्। मतगणनामा सुरुवातदेखि अग्रता हासिल गरिरहेका बुढाक्षेत्रीले योगेशको निश्चित ठानिएको जीतलाई अनिश्चित बनाइदिएका छन्। 

मतगणनाको पछिल्लो परिणामअनुसार बुढाक्षेत्रीले १८ हजार १ मत प्राप्त गरेका छन्। एमालेका भट्टराईले १७ हजार ८ सय ६४ मतसहित उनलाई पछ्याइरहेका छन्। 

खेलप्रसाद र योगेशबीच सिर्फ १३७ मतको अन्तर छ। तर, सत्तागठबन्धन र एमाले दुवैतिरबाट ‘ग्रिन जोन’ मा रहेका ठानिएका योगेशलाई ताजा मतपरिणामले हराबरा खेलाइदिएका छन्। 

एक समय योगेशसँग १ हजारजति मतान्तर कायम गरेका खेलप्रसादको मतान्तर खुम्चिएर १३७ मा झरे पनि उनका यस्ता केही पकेट क्षेत्र अझै बाँकी रहेको बताइन्छ। अहिलेकै ‘ट्रेण्ड’ कायम रहिरह्यो तिनै पकेट क्षेत्रका मतबाट खेलप्रसादले चुनावी खेल उल्टाइदिन सक्ने कुराले ताप्लेजुङ एमाले पंक्ति चिन्तित छ।

हुन त, मतगणना बाँकी रहेका साँघु र तिरिङ्गे ओगट्ने मौवाखोला गाउँपालिको वडा, जिल्ला सदरमुकाम फुङलिङ गाउँपालिकाका केही वडाहरुबाट योगेशले मतान्तर बढाउन सक्छन्। यसमध्ये साँघु योगेशको आफ्नै गाउँ हो। 

तर, योगेशले यी वडाहरुबाट अग्रता हासिल गरे पनि त्यसलाई खेलप्रसादले गणना बाँकी रहेका अन्य वडा–गाउँहरुबाट सन्तुलनमा ल्याउन सक्छन्। 

जानकारीअनुसार, सिरिजङ्गा गाउँपालिकाको थेदाङ र फेरुङ ओगट्ने वडाहरुबाट खेलप्रसादले अत्यधिक मत ल्याएर मतान्तर बढाउन सक्छन्। यसमध्ये फेरुङ खेलप्रसादको गाउँ हो। 

मेरिङदेन गाउँपालिकाको लिङ्थेप खेलप्रसादले अत्यधिक मत ल्याउने सम्भावना रहेको अर्काे वडा हो। 

‘जहाँबाट योगेशले बढी मतान्तरले अग्रता हासिल गर्छन् भन्ने ठानिएको थियो, त्यहाँ उनले उल्लेख्य मतान्तर कायम गर्न सकेनन्’ भट्टराई निकट एक एमाले कार्यकर्ताले भने, ‘खेलप्रसादले कम मतान्तरले अग्रता हासिल गर्छन् भनिएका ठाउँमा भने उनले ठूलो मतान्तरले अग्रता लिए । यसले गर्दा योगेश निरन्तर पछि परिरहेका छन्।’

आफ्नो गाउँ साँघुबाट मतदान गर्दै योगेश भट्टराई  

जनयुद्धकालमै शिक्षण पेशा छाडेर माओवादी जनयुद्धमा सहभागी भएका खेलप्रसाद लोप्रोफाइलमा रहेर ताप्लेजुङमा निरन्तर काम गरिरहेका जिल्लास्तरीय नेता हुन्। पछिल्लो समय उनी माओवादी केन्द्रको जिल्ला इञ्चार्ज हुन्। 

खेलप्रसादले चुनावमा आफ्नो नेतृत्व क्षमता गत स्थानीय तह निर्वाचनमै प्रदर्शन गरेका थिए। कांग्रेससँगको गठबन्धनबाट गत स्थानीय तह निर्वाचनमा उनले फत्ताङलुङ (राजन लिम्बू) र मौवाखोला गाउँपालिका (विजयप्रकाश बनेम) लाई जिताएका थिए। 

मिक्काखोला (डण्डु शेर्पा लामा), सिदिङ्वा (कृष्णकुमार कडरिया), सिरिजङ्गा (चित्रकुमार लिम्बू) गाउँपालिका गरी माओवादी केन्द्रले तीन स्थानीय तहमा उपप्रमुखमा विजय हासिल गरेको थियो। 

माओवादी केन्द्र निकै कमजोर रहेको ताप्लेजुङमा कांग्रेसको मत ट्रान्सफर नहुने अनुमान गरिएको थियो। तर, कांग्रेससँग निकै राम्रो समन्वय गरेर उनले मत ‘ट्रान्सफर’ हुने स्थिति सिर्जना गरेका थिए। 

देशव्यापी गठबन्धनका बाबजुद नेपाली कांग्रेस समर्थकको मत राम्रोसँग माओवादी केन्द्रतर्फ ‘ट्रान्सफर’ नहुने ‘ट्रेण्ड’ देखिइरहेका बेला ताप्लेजुङमा भने त्यो समस्या बेहोर्नु परेको छैन। 

बरु, एमालेकै मतसमेत तानेर खेलप्रसाद सुरुदेखि नै अग्रता लिइरहेका छन्। 

‘अन्तिम परिणाम के हुन्छ, त्यो निश्चित छैन। तर, ताप्लेजुङमा कांग्रेस–माओवादीबीच मत ट्रान्सफरको समस्या देखिएन’ स्थानीय पत्रकार मनमणि काफ्लेले भने, ‘स्थानीय तह निर्वाचनमाभन्दा अझ बलियो गठबन्धन यसपटक देखियो। त्यसैको असर निर्वाचन परिणाममा देखिइरहेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .