ad ad

राजनीति


अमनलाल मोदी : ३७ वर्षमै तेस्रोपटक संघीय संसद्‌को यात्रा

कांग्रेसको साथ मिल्दा भारी मतले विजयी
अमनलाल मोदी : ३७ वर्षमै तेस्रोपटक संघीय संसद्‌को यात्रा

ध्रुव भट्टराई
मंसिर ८, २०७९ बिहिबार १६:२१, विराटनगर

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी तेस्रोपटक प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन्। 

मोरङ क्षेत्र नम्बर ४ बाट सत्ता गठबन्धनका उम्मेदवार मोदी तेस्रोपटक संघीय संसद्‌मा प्रवेश गर्ने भएका हुन्। 

नेकपा एमालेका केन्द्रीय सदस्य रहेको विनोद ढकाललाई ६ हजार १ सय ४९ मतले पछि पार्दै मोदी प्रतिनिधि सभा सदस्य बनेका हुन्। 

विजयी मोदीले ३० हजार ६ सय १२ मत प्राप्त गरे भने पराजित ढकालले २४ हजार ४ सय ६३ मत ल्याए। 

३७ वर्षीय मोदी २८ वर्षको उमेरमा पहिलो संविधानसभा सदस्य बनेका थिए। त्यसयता उनले दुईपटक संसदमा प्रतिनिधित्व गरिसकेका छन्।

लगातार दुई पटक संसदमा प्रतिनिधित्व गर्ने ४० मुनिका थोरै नेतामा पर्छन् उनी।

२०५६ सालबाट माओवादीसँग जोडिएका अमनले सुरुमा अखिल क्रान्तिकारीको राजनीति गरे। 

कक्षा ९ मा पढ्दै गर्दा माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्य बनेका उनी महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गर्दागर्दै राजनीतिमा सक्रिय भए।

महेन्द्र मोरङमा पढ्दा उनले खर्च जुटाउन विराटनगरका होटलहरुमा वेटर र क्लिनरको काम गरे।

मोदी माओवादी जनयुद्धका बेला २०६० साल पक्राउ परे। २ वर्ष तीन महिना कारागार बसेका उनले हिरासत र कारागारमा शारीरिक र मानसिक यातना पनि भोगे।

जेलबाट छुटेपछि पार्टीको राजनीति गरेका उनी २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक संसद निर्वाचित भए।

संविधान निर्माणमा आफूले राम्रो भूमिका खेलेको उनको दाबी छ। संविधान निर्माणमा भूमिका खेलेका कारण २०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट टिकट पाएका बताउँने  मोदीले कांग्रेस नेता महेश आचार्यलाई  पराजित गरे। 

अघिल्लो  चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका मोदी ३३ हजार ५ सय २९ मतसहित विजयी भएका थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी महेश आचार्यले २६ हजार ८ सय मत पाए।  मंसिर ४ को निर्वाचनका लागि आचार्य पनि दाबेदार  थिए। गठबन्धनबाट पून मोदीले टिकट पाएका थिए।

मोदीले प्रतिनिधिसभामा आफूले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्।

‘एमालेले दुई पटक गरेको संसद विघटन र कोरोना महामारकीका कारण सोचेअनुसार सबै काम गर्न सकिनँ, तर धेरै काम भएका छन्,’ उनले भने,‘हिजो सुरु गरेका केही योजना अधुरा छन् , ती योजना पूरा गर्दै थप नयाँ काम गर्ने योजना छ।’ 

एक लाख १० हजार मतदाता रहेको क्षेत्र नम्बर ४ थारु बाहुल्य क्षेत्र हो। रुख चिह्न नभएका कारण कांग्रेसीको भोट आउने एमाले नेताहरुको आकलन थियो। तर त्यसविपरीत मोदी तेस्रो पटक संसद पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .